धनगढी,१५ साउन । कैलालीको मोहन्याल गाउँपालिका–७ पितमारी खोलामा कचाली गाउँबाट दाउरा बोकेको भे१च ३७१४ नम्बरको बोलेरो जिप नियन्त्रणमा लिएर चालक र जिप साहुमाथि कुटपिट गरिएको छ । सोमबार राति करिब ११ बजेतिर युवाको समूहले चालक र जिप साहुमाथि कुटपिट गर्नुका साथै सहचालकलाई लिएर भागेका प्रहरीले बताएको हो ।
जिप चालक लम्कीचुहा नगरपालिका–८ खग्रवार बस्ने २५ वर्षीय अनुराज चौधरी र रामबहादुर चौधरीमाथि कुटपिट भएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले बताए । चालकको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको र जिप साहुलाई सामान्य लछारपछार मात्र गरिएकाले धेरै चोट नरहेको उनले बताए ।
आक्रमण गर्ने समूहका युवाहरु सहचालक लम्कीचुहा–९ मलभंगा बस्ने १७ वर्षीय लोकेन्द्र चौधरीलाई आफैसँग लिएर फरार भएका बताइएको छ । उक्त समूहका लम्कीचुहा–३ चिसापानी बस्ने २३ वर्षीय नारायण शाहीलाई नियन्त्रणमा लिएको र फरार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले उनीहरूले दुई नम्बरी दाउरा ल्याइरहेको भन्दै जिपबाट पैसा लिन खोजेको तर पैँसा नपाउने भएपछि कुटपिट गरेको बुझिएको बताए । जिप नियन्त्रणमा लिएर कुटपिट गर्ने कार्यमा संलग्नहरू चिसापानी क्षेत्रमा हप्ता असुली जस्ता कार्यमा विगतदेखि सक्रिय समूह भएको पाइएको प्रहरीले जनाएको छ ।