धनगढी,८ साउन । कञ्चनपुरको पुनर्वास नगरपालिका–९ को परासन स्वास्थ्य चौकीमा बिना विज्ञापन अहेव पदमा कर्मचारी नियुक्ति गरेको भन्दै स्थानीयले नियुक्ति बदरको लागि प्रमुख प्रशासकीय अधिकृतलाई निवेदन बुझाएका छ्न् । अहेव देवी कुमारी तामाङको नियुक्ति बदरको माग गर्दै साउन ६ गते आइतबार प्रमुख प्रशासकीय अधिकृतलाई १० जना स्थानीयको हस्ताक्षरित निवेदन बुझाइएको हो।
‘पुनर्वास नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरुमा ऐन, नियमको बर्खिलाप स्वास्थ्य शाखाले करार/ज्यालादारीमा कर्मचारी भर्ना गर्दै आएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ निवेदनमा भनिएको छ । परासन स्वास्थ्य चौकी लगायतका संस्थाहरुमा गरिएका नियुक्तिलाई बदर गरी कानून बमोजिम सूचना तथा विज्ञापन गरी विधिवत रुपमा प्रक्रिया पुगाएर कर्मचारी भर्ना गर्न उनीहरुले माग गरेका छन् ।
यता, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर धामीले नियमसङ्गत नै अहेव नियुक्ति गरिएको बताए । ‘अहेवको दरबन्दी छैन, यसअघि करारमा कार्यरत शुकसागर तामाङ २ महिनाअघि विदेशिनुभयो’, स्वास्थ्य शाखा प्रमुख धामीले भने, ‘२ महिनाभन्दा बढी समय पद रिक्त हुँदा दैनिक ज्यालादारीमा नियुक्ति गरिएको हो ।’
धामीका अनुसार दरबन्दी नहुँदा विज्ञापन खोल्न नसकिएको हो । सेवा प्रवाह २ महिनाभन्दा बढी अबरुद्ध हुँदा नियुक्त गर्नुपरेको धामीले बताए । भइसकेको नियुक्त बदर गर्दा समेत अर्को समस्या आउने हुँदा तत्काल बदर गर्न नसकिने धामी बताउँछन् । ९ नम्बर वडा पुनर्वासका मेयर तोयाप्रसाद शर्माको वडा हो । नियुक्त गरिएकी महिला ७ नम्बर वडाकी हुन् । राजनीतिक प्रतिशोधकै कारण नियमसङ्गत रहेको नियुक्ति प्रक्रियालाई तोडमरोड गरिएको धामी बताउँछन् ।
