यमुना साउद । धनगढी ,५ साउन । कैलाली जिल्ला खेलकुद समितिले हालै एक नयाँ नियम लागु गरेको छ जसअनुसार रङ्गशालामा प्रवेश गर्नका लागि समितिले जारी गरेको प्रवेश कार्ड अनिवार्य गरिएको छ । यो निर्णय खेलकुद कार्यक्रमहरूको व्यवस्थापन र सुरक्षा सुनिश्चित गर्नका लागि गरिएको हो ।
रङ्गशालामा अन्य व्यक्तिहरू आएर झैझगडा , होहल्ला, र चोरीका घटनाहरू बढ्दै गएपछि प्रवेश कार्ड अनिवार्य गरेको जिल्ला खेलकुद समितिका प्रमुख आश्रम केसीले बताए । उनले भने “यो कदम खेलकुद कार्यक्रमहरूको व्यवस्थापनलाई थप व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले उठाइएको हो । प्रवेश कार्ड बिना रङ्गशालामा प्रवेश निषेध गरिनेछ, कार्यक्रमको क्रममा अनुशासन कायम राख्न मद्दत पु¥याउनेछ ।
र पहिले सबै भन्दा बढी त लागु औषध प्रयोगकर्ताहरू आउने गरेका थिए । चोरी पनि हुन थाल्यो । खेलाडीहरू खेल खेलिरहँदा पनि दिमाग साइकलमै हुन्थ्यो ,चोरी हुने डर थियो , खेलाडीका २२ ओटा साइकल चोरी भए , उनीहरू रुँदै घर पुग्थे। ती समस्याका कारण अहिले प्रवेश कार्ड र चारै तिर सिसिटिभीका व्यवस्था समेत गरेका छौ ।”
समितिको यो कदमलाई सकारात्मक रूपमा लिएका खेलाडी गनेश रोकायाले बताए । उनले भने “खेल खेल्ने भन्दा बढी अन्य मान्छे आउँथे,हल्ला हुन्थ्यो , खेल तिर ध्यानै जाने थिएन ,मेरो पनि साइकल चोरी भयो । ”
प्रवेश कार्डले गर्दा खेलाडीलाई सहज महसुस भएको सितोरियो कराँते खेलाडी गायत्री मल्लले बताइन् । उनले भनिन, “यो नियमले हाम्रो खेलकुद वातावरणलाई सुरक्षित र शान्त बनाएको छ। प्रवेश कार्डका कारण खेलाडी र दर्शकहरूबिच एक किसिमको अनुशासन रहने छ । ”
प्रवेश कार्डको अनिवार्यता स्वागतयोग्य कदम भएको सितोरियो कराँते प्रशिक्षक वर्षा साउदले बताइन् । “यसले रङ्गशालामा हुने भीडलाई व्यवस्थापन गर्न र खेलाडीको ध्यान केन्द्रित गर्न सहज भएको छ । र यो नियमले हामीलाई खेलमाथि ध्यान दिन सजिलो बनाएको छ ।” प्रवेश कार्ड प्राप्त गर्न इच्छुक खेलाडीहरूलाई कैलाली जिल्ला खेलकुद समितिको कार्यालयमा सम्पर्क गर्न भनिएको छ । प्रवेश कार्ड प्राप्त गर्नका लागि व्यक्तिगत दुई वटा फोटा आवश्यक पर्ने बताइएको छ ।