धनगढी,१६ असार । सुदूरपश्चिम प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गरी ४ वटा मन्त्रालय विभाजन गरेको छ ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रालय विभाजन गरेर विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी तोकेका हुन् । आज पदभार ग्रहण समेत हुने माओवादी केन्द्रका उपनेता तथा जलस्रोत तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका अक्कलबहादुर रावलले जानकारी दिए ।
भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाइएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालयका महाशाखा एक अर्कामा गाभ्दै नयाँ मन्त्रालय बनाइएको छ । जसमा वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय र उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको मन्त्री रावलले बताए ।
मुख्यमन्त्री सोडारीले माओवादी केन्द्रका उपनेता समेत रहेका अक्कलबहादुर रावललाई जलस्रोत तथा सहरी विकास मन्त्रालय, एमालेका वीरबहादुर थापालाई वन वातावरण तथा सहकारी मन्त्रालय, हिरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, माओवादी केन्द्रकै लक्ष्मी विकलाई शिक्षा युवा तथा खेलकुद मन्त्रालय र एकीकृत समाजवादीकी माया पन्तलाई उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालयलाई भने यथावत् राखिएको छ ।