धनगढी,५ असार । कैलालीको गोदावरी नगरपालिका – ६ मा रहेको शैलेश्वरी माविका विद्यार्थीलाई लागू औषध दुर्व्यसनी सम्बन्धी सचेत गराइएको छ । बुधवार राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान केन्द्रीय समिति अत्तरियाले वडा कार्यालयको आर्थिक सहयोग र इलाका प्रहरी कार्यालय मालाखेती सँगको सहकार्यमा सचेतना कार्यक्रम आयोजना गरेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारकी पूर्व राज्य मन्त्री चुन कुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी गंगा बहादुर थापा र ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयकी सञ्चालिका ब्रह्मकुमारी रबीनाले प्रशिक्षण दिएकी थिइन् ।
कार्यक्रममा बोल्दै पूर्व राज्य मन्त्री चौधरीले बालबालिकालाई लागू औषधको दुव्र्यसनिबाट बचाउन अभिभावकको मुख्य भूमिका हुने बताइन् । उनले अभिभावकको नजरमा आफ्ना सन्तान राम्रो भन्ने बानी हुने भएकाले बालबालिका जोखिममा गएको पत्तो नलाग्ने बताइन् ।
डिएसपी थापाले लागू औषधले पार्ने असर, कारणको बारेमा बालबालिकालाई जानकारी हुनपर्ने बताए । उनले लागू औषध दुव्र्यसनिको न्यूनिकरणको लागि प्रहरीले पक्राउ गर्ने र पढाउदै हिड्ने बताए । ब्रह्मकुमारी रबीनाले बालबालिका गलत संगलतमा लाग्दा नै लागू औषधको दुव्र्यसनमा फस्ने गरेको बताइन् । उनले बालबालिकालाई गलत संगतबाट जोगिन आग्रह गर्दै बालबालिकामा पढाइको मात्रै नसा हुनपर्ने बताइन ।
कार्यक्रममा शैलेश्वरी मावि कक्षा ९ र १० मा अध्ययनरत १ सय भन्दा बढी विद्यार्थीको सहभागिता रहेको राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष लिलाधर बास्कोटाले जानकारी दिए । उनले लागू औषध न्यूनिकरणका लागि प्रतिष्ठानले आगामी दिनमा सडक नाटक कार्यक्रमको आयोजना गर्ने बताए ।