धनगढी,५ असार । कैलालीको अत्तरियामा स्थानीय तहका दलित जनप्रतिनिधिहरूको क्षमता विकास तालिम सुरु भएको छ । द फ्रिडम फन्डको आर्थिक सहयोगमा दलित विकास सेवा केन्द्रले २ दिने तालिमको आयोजना गरेको हो । दलित सशक्तीकरण कार्यक्रम अन्तरगत आयोजना गरिएको तालिममा छुवाछुत, विभेद, आरक्षण, मानव अधिकार, पैरवी सम्बन्धी स्थानीय तहका जनप्रतिनिधि सँग छलफल गरिने जनाइएको छ ।
तालिमको मंगलबार एक कार्यक्रमका बिच सुदूरपश्चिम सरकारका बिना विभागीय मन्त्री हिरा सार्कीको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै उनले दलित अधिकारका लागि दलित समुदाय एकजुट हुनुपर्ने बताए । उनले दलित समुदायको हक अधिकारका लागि मन्त्रीको हैसियतमा सक्ने जति काम गर्न सधैँ तत्पर रहने बताए ।
बिहीबार सम्म सञ्चालन हुने तालिममा जातीय छुवाछुतको हालको अवस्था, विकासमा दलित सहभागिता तथा दलित जनप्रतिनिधिको सहभागिता, दलित सवालहरूको पहिचान र योजना तर्जुमाका विषयमा छलफल गरिने दलित विकास सेवा केन्द्रका अध्यक्ष टेक विकले बताए ।
यस्तै तालिममा आरक्षण, समानुपातिक, समावेशी, जातीय छुवाछुत तथा विभेद विरुद्धको संवैधानिक व्यवस्था, दलित अधिकार, जातीय छुवाछुत कसुर र सजाय ऐन २०६८, छुवाछुत तथा विभेद विरुद्धको संवैधानिक व्यवस्था लगायतका विषयमा छलफल गरिने जनाइएको छ । तालिममा गोदावरीका १२ वटै वडाका दलित जनप्रतिनिधि सदस्य र कार्यपालिका सदस्यको सहभागिता रहेको परियोजनाका संयोजक कृष्ण विकले बताएका छन् ।