कैलाली, १५ मंसिर / बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि कैलालीको लम्कीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पार्ने स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा परेर लम्कीचुहा– १ की उक किशोरी घाइते भएकी छिन् ।
मृतकको परिवारलाई क्षतिपूर्ति दिने विषयलाई लिएर स्थानीयले राजमार्ग अवरुद्ध गर्दा प्रहरी र स्थानीयबिच झडप भएको हो । घाइते लम्कीचुहा– १ की १८ वर्षीय सृजना सुनारको टाउकोमा चोट लागेको छ । उनको अहिले उपचारका लागि उनलाई स्थानीय लालरत्न अस्पतालमा लगिएको छ ।
बिहिवार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिँदा मोहोन्याल गाउँपालिका ७ का ३७ वर्षीय डम्बरबहादुर विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर २ गणेशपुर चोकमा पैदलयात्रा गरीरहेका बिष्टलाई बसले ठक्कर दिदा गम्भीर घाइते भएका थिए।
घाइते बिष्टको उपचारको क्रममा कोहलपुरमा गएराति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा रहेका छन् ।