धनगढी, १० असोज / व्यापार व्यवसाय प्रबद्र्धन गरी प्रयोगकर्तालाई गुणस्तरीय निर्माण सामाग्री छनौट गर्न सचेतना प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हार्डवेयर एक्सपो आजदेखि शुरु हुँदैछ । उत्पादक–व्यापारी–प्रयोगकर्ताबीच त्रिपक्षीय अन्तरक्रियाको माध्यमबाट हार्डवेयरल एक्स्पोले व्यवसाय प्रबद्र्धन गर्ने बताइएको छ ।
एक्स्पो अवलोकन गर्न आउने आमनागरिकलाई निर्माण सामग्रीबारे विज्ञमार्फत् जानकारी दिइने आयोजक कैलाली हार्डवेयर व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष कुबेर शाहीले आजदेखि हुने मेलाको तयारी पुरा भएको बताए । स्टलहरु बुकिङ गर्ने, प्रायोजक जुटाउने, प्रचारप्रसार गर्नेलगायत तयारी पुरा भएको उनले बताए । ‘प्रचारप्रसार, अथिति सत्कार, स्टल तथा मञ्च निर्माण, आर्थिकलगायत छुट्टाछुट्टै समिति गठन गरेर तयारी पुरा गरेका छौँ’ अध्यक्ष शाहीले भने । एक्स्पो असोज१४ गतेसम्म सौराइ स्क्वायरमा सञ्चालन हुने छ ।
एक्स्पोमा निर्माण तथा हार्डवेयर सामग्रीसँग सम्बन्धित करिब ५५ वटा स्टल निर्माण गरिएको छ । हार्डवेयर तथा निर्माण सामग्री उत्पादक कम्पनीहरुले स्टलहरु बुकिङ्ग गरी स्टलमा निर्माण सामाग्री र सोको विषयमा जानकारीहरु राखिसकेका छन् । अवलोकनकर्ताले निर्माण तथा हार्डवेयरसँग सम्बन्धित सम्पूर्णसामग्री एउटै छानामुनि अवलोकन गरेर ती सामग्रीबारे जानकारी लिन पाउने संघले जनाएको छ ।
‘संरचना निर्माणको योजनामा रहनुभएका व्यक्ति, सरोकारवाला र आमनागरिकलाई निर्माणसँग सम्बन्धित सबै प्रकारका सामग्री, तिनको मूल्य, गुणस्तर र निर्माण क्षेत्रको नयाँ प्रविधिबारे एक्स्पोका माध्यमबाट जानकारी गराउन खोजेका हौँ’ अध्यक्ष शाहीले भने, ‘यसबाट व्यवसाय वृद्धिमा पनि मद्दत पुग्ने अपेक्षा गरेका छौँ ।’राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुले उत्पादन गरेका निर्माण सामग्रीबारे अवलोकनकर्ताले जानकारी हासिल गर्नसक्ने उनले बताए ।
सरिया, सिमेन्टदेखि संरचना निर्माण गर्दा आवश्यक पर्ने सबै प्रकारका सामग्री, टायल, मार्बल, धारा, रङरोगनलगायत फिनिसिङका सामग्रीहरु प्रदर्शनीमा राखिनेछन् । व्यवसायिक तथा घर निर्माण कर्जाबारे जानकारी दिन केही बैंकका स्टलसमेत राखिने संघले जनाएको छ । स्थानीय खाना तथा नास्ताका परिकारका स्टलहरु पनि रहको अध्यक्ष शाहीले जनाए ।