लवदेव धामी
धनगढी,५ असोज/ कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले शिक्षासँगै सिप अभियान कार्यक्रम सञ्चालन गरेर आज समिक्षा सहित समापन गरेको छ। झण्डै एक महिना सम्म संचालन भएको कार्यक्रमको आज समिक्षा कार्यक्रम आयोजना गरेको स्ववियु सचिव सन्तोष पन्तले बताउनुभयो।
एक महिना सम्म ‘कमान्डो’ कोर्सका रुपमा लोक सेवा आयोगका तयारी कक्षा, बैङ्किङ तयारी कक्षा, शिक्षक अध्यापन अनुमति पत्रको तयारी कक्षा, अङ्ग्रेजी भाषाका तयारी कक्षा, नृत्य , गायन , जस्ता कार्यक्रमहरु संचालनमा ल्याएको कैलाली बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष यमराज जोशीले बताउनुभयो।
पढाईसँगै अन्य क्षेत्रमा रुचि राख्ने विद्यार्थीको सहजताको लागि निशुल्क कक्षा सञ्चालन गरेको स्ववियु अध्यक्ष जोशीले बताउनुभयो।
यो कार्यक्रम छोटो समयका लागि मात्रै संचालन गरिएकाले कौतुहलता, उत्सुकताका साथै प्रेरणा समेत दिएको स्ववियुले संचालन गरेका कक्षामा सहभागी भएका विद्यार्थीहरुको भनाइ रहेको छ। अगामी दिनमा यस्ता रचनात्मक, बौद्धिक क्षमता बढाउने कार्यक्रमहरु संचालनमा ल्याइराख्नु पर्ने सहभागी विद्यार्थीहरुको माग रहेको छ ।
सुदुरपश्चिम सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउदले कार्यक्रमको प्रमुख अतिथित्यता ग्रहण गर्नुभएको थियो। उहाँले कार्यक्रममा बोल्दै भन्नु भयो, “कैलाली बहुमुखी क्याम्पसको स्ववियूले गरेको यो कार्यक्रम देशभरमै अनुकरणीय रहेको र, यस्ता रचनात्मक कार्यक्रम संचालन गर्नका लागि अगामी दिनमा प्रदेश सरकारले गर्न सक्ने सहयोगका लागि आफु तयार रहेको बताउनुभयो”।
कैलाली बहुमुखी क्याम्पसमा अगामी दिनमा यस्ता रचनात्मक, बौद्धिक कार्यक्रमहरु संचालन गर्नको लागि क्याम्पस प्रमुख तोयाराज भट्ट र स्ववियु अध्यक्ष यमराज जोशीले आर्थिक सहयोगको माग सहितको ज्ञापनपत्र संयुक्तरुपमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउदलाई बुझाएको स्ववियु सदस्य गणेश उपाध्यायले बताउनुभयो।
हाम्रा यस्ता कार्यक्रम अगामी दिनमा पनि संचालन गरिने र कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी लगायत सम्बन्धित निकायबाट हुन सक्ने सहयोगको अपेक्षा राखेको स्ववियु अध्यक्ष यमराज जोशीले बताउनुभयो।