डडेल्धुरा, ४ असोज / डडेल्धुरामा २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना युवक पक्राउ परेका छन्। २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा ३ जनालाई डडेल्धुरा प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका ३ ओड गाउँका २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दिपक ओडलाई प्रहरीले पक्राउ गरेको हो भने १८ वर्षीय किशोर फरार रहेका छन् ।
उनीहरुमाथि फरक फरक समय र स्थानमा युवतीलाई बलात्कार गरेको आरोप छ। कमल र २ जना १८ वर्षीय किशोरले ती युवतीलाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा तथा तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ भागेश्वर गाउँपालिकाकै डेकास्थित एउटा घरको गोठमा जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ।
पीडित युवतीको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले ३ जनालाई पक्राउ गरेको हो। घटनामा संलग्नता आरोप लागेका एक १८ वर्षीय किशोर फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
आरोपित ३ जनालाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ।