धनगढी, २ असोज / कैलालीका स्थानीय तहहरुले असोज १ गतेदेखि नदिजन्य पदार्थ (ढुङ्गा, बालुवा, गिट्टी आदि) को उत्खन्न, संकलन तथा ढुवानी शुरु गरेका छन् ।
स्थानीय तहको प्रमुख आय स्रोतका रुपमा लिइएको नदिजन्य पदार्थको उत्खन्न, संकलन तथा ढुवानी शुरु गराएका हुन् । राजस्वको लोभले कैलालीका स्थानीय तहहरुले जथाभावी नदी दोहन गराइरहेको स्थानीयहरुको गुनासो रहेको छ । पुरानै वातावरीण प्रभाव मूल्याङ्कन र प्रारम्भिक वातावरणीय परिक्षणलाई आधार मान्दै स्थानीय तहहरुले ठेक्का आह्वान गरेका छन् । स्थानीय तहहरुको ठेक्का प्रक्रिया पुरा भइनसक्दा कर्मचारी खटाएर राजश्व संकलनलाई अघि बढाएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
‘अझै १२ दिनजति ठेक्का आह्वानको मिति रहेको छ । यस अवधिमा कर्मचारी खटाएर राजश्व संकलन गरिरहेका छौं’ राजश्व शाखा प्रमुख योगेन्द्र चन्दले भने –‘प्रदेश सरकारले तोकेको न्यूनतम दरका आधारमा भ्याटबाहेक प्रति घनमिटर दुई सय १२ का दरले राजश्व संकलन गरिरहेका हौं ।’
धनगढी उपमहानगरपालिका वडा नम्बर १७ का स्थानीय पुष्पराज रानाले खुटिया खोलामा जथाभावी नदिजन्य पदार्थ उत्खन्न गर्दा बस्ती, खेत, वन लगायतका क्षेत्रमा असर परिरहेको गुनासो गरे । उनले भने –‘यस क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन तथा प्रारम्भिक वातावरणीय परिक्षण नै नगरि उपमहानगरपालिकाले जथाभावी बालुवा उत्खन्न तथा संकलन गरिरहेको छ । राजश्वको लोभले बस्ती नहेरी उत्खन्न गराइरहेको छ ।’
उनले आफैले तोकेका मापदण्ड विपरित नदिजन्य पदार्थ उत्खन्न भइरहदासमेत अनुगमन, नियमनमा स्थानीय तहहरुले ध्यान नदिएको गुनासो गरे । नदिजन्य पदार्थ उत्खन्न गर्दा पुल, वनक्षेत्रभन्दा पाँच सय मिटर परमात्र गर्न पाइन्छ । तर, केही पालिकाले त्यसलाई ध्यानमा नराखेको उनको गुनासो छ ।
जिल्ला समन्वय समिति कैलालीका सूचना अधिकारी विमलप्रकाश जोशीले स्थानीय तहको राजस्व गुमाउन नदिन ठेक्का प्रक्रिया वा कर्मचारी खटाएर नदिजन्य पदार्थ उत्खनन् गराउँदा केही फरक नपर्ने बताए ।
‘ठेक्कामा दिँदा स्थानीय तहको आम्दानी बढ्छ, तर कर्मचारी खटाएर नदीजन्य पदार्थ उत्खनन् गराउँदा खर्च बढ्ने देखिन्छ,’ जिसस कैलालीका सूचना अधिकारी जोशीले भने ।
धनगढी उपमहानगरपालिका, गोदावरी, गौरिगंगा, घोडाघोडी, लम्की चुहा नगरपालिका तथा बर्दगोरिया गाउँपालिकाले कर्मचारीमार्फत् नदीजन्य पदार्थ उत्खनन् गराइरहेका छन् ।
१३ वटा स्थानीय तह रहेको कैलाली जिल्लामा भजनी नगरपालिका, जोशीपुर र कैलारी गाउँपालिका क्षेत्रमा बालुवा बाहेक अन्य नदीजन्य पदार्थ छैन । जोशीपुर गाउँपालिकामा भने नदी छैन ।
जिल्लाको कर्णाली, खुटिया, शिवगंगा, गोदावरी, काडा, कनरी लगायतका विभिन्न प्रमुख तथा सहायक नदिहरुमा नदिजन्य पदार्थ उत्खन्न हुँदै आएका छन् ।