धनगढी, २५ भदौ / आगामी मंसीरयता कैलालीको त्रिनगर नाकाबाट खाद्यवस्तुको आयात नहुने भएको छ ।
तरकारी, फलफूल, खाद्यान्न र मासुजन्य पदार्थ भारतबाट नेपाल भित्र्याउन आवश्यक क्वारेन्टिन सम्पर्क बिन्दु बन्द भएपछि मंसीरयता सो नाकाबाट ती वस्तु आयात हुन नसक्ने प्लान्ट क्वारेन्टिन गड्डाचौकीका प्रमुख श्यामलाल चाईले बताएका छन् ।
नेपाल सरकारले चालु आर्थिक वर्ष २०८०।०८१ को बजेटमा वनस्पति, खाद्य र मासुजन्य पदार्थ आयातका लागि भन्सार नाकाहरुमा खोलिएका छुट्टाछुट्टै क्वारेन्टिन मंसीरभित्र गाभ्ने निर्णय गरेकोले त्रिनगर नाकाबाट आयात ठप्प भएको हो ।
‘मंसीरसम्म ३ वटै क्वारेन्टिन गाभिएपछि त्रिनगरबाट आयात सहज होला’ चाईले भने, ‘त्यसयता त्यहाँ सम्पर्क बिन्दुमार्फत् क्वारेन्टिन गर्ने आदेश आएको छैन ।’
सुदूरपश्चिममा भारतबाट खाद्यवस्तु आयातका लागि कञ्चनपुरको गड्डाचौकीमा मात्र प्लान्ट क्वारेन्टिन कार्यालय छ । त्रिनगर नाकामा असारसम्म गड्डाचौकीको सम्पर्क बिन्दुले क्वारेन्टिन गरिरहेको थियो । बजेटले सम्पर्क बिन्दु हटाउने व्यवस्था गरेपछि त्रिनगरबाट खाद्यवस्तु आयात बन्द भएको हो ।
सुदूरपश्चिममा भारतबाट दैनिक कम्तीमा १५ वटा ठूला ट्रकमा तरकारी, फलफूल तथा खाद्यान्न आयात हुने गरेकोमा अहिले सो आयात बन्द छ । महाकाली नदीको बनबासा पुलबाट ठूला ट्रक ल्याउन अनुमति नभएकोले व्यापारीहरुले नेपालगञ्ज नाकाको प्रयोग गरिरहेको बताइएको छ ।
‘तर, नेपालगञ्ज नाकाबाट आधा जति मात्रै सामान आइरहेको छ’ चाईले भने, ‘व्यापारीलाई धेरै महंगो पर्ने भएकाले आयात कम भएको हो ।’
गड्डाचौकी नाका भएर साना ट्रक मात्रै भित्रिन सक्छन् । साना ट्रकमा ल्याउँदा व्यापारीलाई घाटा हुने भएकोले सो नाकाबाट अहिले पनि आयात नभएको चाईको भनाई छ ।