धनगढी, १३ भदौ / सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अवैध रुपमा दोहोरी साँझ सञ्चालनमा ल्याइएको छ । धनगढी उपमहानगरपालिका–४ को बोराडाँडीमा कानुुनी प्रक्रिया नपुगाएर दर्ता समेत नगरी न्यू सुन्दर सुदूरपश्चिम दोहोरी साँझ सञ्चालनमा ल्याएको पाइएको हो ।
अवैध रुपमा सञ्चालन गरिएको दोहोरी साँझमा अश्लिल हर्कत गर्ने, जथाभावी बोल्नेदेखि राति अबेरसम्म म्युजिक बजाएर बाधा अवरोध सिर्जना गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । स्थानीय केशव बिष्टले आफूहरुको सहमती समेत नलिएर अवैध रुपमा सञ्चालन गरिएको दोहोरी साँझले घर परिवारलाई बाधा (डिस्टर्व) गरेको भन्दै सञ्चालनमा रोक लगाउनुपर्ने बताए ।
‘यो घरमा यसअघि होटल सञ्चालन गरिएको थियो । त्यो बेला पनि अवैध गतिविधि गरिएपछि गाउँ, समाजलाई नराम्रो असर परेको थियो,’ विष्टले भने, ‘अहिले हामी टोल छिमेकीलाई समेत थाहा नदिएर रातारात दर्ता नगरी अवैध रुपमा दोहोरी साँझ खोलिएको छ । राति अबेरसम्म डिजेमा म्युजिक बजाएर हामीलाई डिस्टर्व गर्ने, जथाभावी अश्लिल हर्कत गर्ने काम भइरहेको छ । यो बन्द गरिनुपर्छ ।’
कुनै पनि सरकारी निकायबाट स्वीकृती वा दर्ता नगरी दादागिरी शैलीमा सञ्चालन गरिएको दोहोरी साँझले बालबालिकाहरुमा नकारात्मक असर पार्ने भएकाले स्थानान्तरण गर्नुपर्ने माग टोलबासीको भएको उनी बताउँछन् । अर्का स्थानीय डम्बर विष्टले दोहोरी साँझ मनोरञ्जन र रमाईलो गर्नका लागि खोलिएपनि रमाईलो गर्ने नाममा टोल छिमेकीलाई बाधा पुगाउने काम गरेको बताए ।
‘उहाँहरु कोठाभित्र रमाईलो गर्ने नाममा जथाभावी बोल्नुहुन्छ । त्यही कुरा बाहिर आएर ठूलो ठूलो स्वरमा बोल्ने, म्युजिक जथाभावी बजाउने काम भइरहेको छ,’ विष्टले भने, ‘त्यसकारण यो यहाँबाट तत्काल हटाउनुपर्छ । हामीलाई स्वीकार्य छैन ।’
स्थानीयले आइतबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिदै दोहोरी साँझलाई बन्द गरिदिन माग समेत गरेका छन् । केशब विष्टसमेतका ४२ जनाले निवेदन दिदै सन्धीयारको सहमती बिना सञ्चालन गरिएको दोहोरी साँझमा होहल्ला गर्ने, गालीगलौज जस्ता अनैतिक क्रियाकलाप गर्ने, डिजे माइक बजाएर रातिको समयमा बालबालिकालाई पठनपाठनमा अवरोध गर्ने काम गरेकाले सहज रुपमा जीवन यापन गर्ने वातावरण बनाइदिन आग्रह गरिएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कडेलले दोहोरी साँझको विषयलाई लिएर स्थानीयले दिएको निवेदन उपर आवश्यक सहजीकरण गर्न जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको बताए । कडेलले दोहोरी साँझ दर्ता बिना सञ्चालन गरिएको पाइएमा तत्काल रोक लगाउने, मापदण्ड पूरा गरे नगरेको हेर्ने र स्थानीयलाई बाधा, अवरोध गरेको पाइएमा कानून बमोजिम कारवाहीको दायरामा ल्याउने बताए ।
सञ्चालक उत्तमबहादुर चन्दले दोहोरी साँझ दर्ता नगरेर सञ्चालनमा ल्याइएको कुरा स्वीकार गरेका छन् । चन्दले दर्ता प्रक्रियामा रहेको बताउदै केही दिनभित्र पूरा हुने बताएका छन् । तर दोहोरी साँझले स्थानीयलाई हानी नोक्सानी हुने कुनै पनि काम नगरेको बताउदै चन्दले सोहीअनुसारका संरचना निर्माण गरिएको बताए ।
‘हामीले म्युुजिकको आवाज बाहिर नसुनियोस् भनेर प्रविधिमैत्री हल बनाएका छौँ । जथाभावी गतिविधि पनि गरिएको छैन । स्थानीयलाई बाधा, अवरोध हुने कुनै काम गरिएको छैन,’ चन्दले भने ।
