बैतडी, १२ भदौ / बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा समस्या भएको छ । गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा हवाई सेवाबाट वञ्चित हुनुपरेको हो ।
प्रत्येक बिहीबार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको समिट एयरले वि स २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो । त्यसयता पाटन विमानस्थलबाट कुनै उडान हुन सकेको छैन । यात्रु अभावको कारण उडान भर्न नसकिने समिट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताउनुभयो । उहाँले भन्नुभयो,“ यात्रु अभावकै कारण यहाँको हवाई सेवा बन्द भएको हो । भाडा महंगो भएकै कारण यात्रुहरु पाउन मुस्किल छ । भाडा नघट्दासम्म उडान हुने सम्भावना कम छ । ”
पाटन– धनगढी १७ मिनेटको हवाई दूरीमा शुरुमा तीनहजार सात सयमा हवाई उडान हुने गरेको थियो । पछिल्लो समय भने बढेर पाँच हजार पुगेको छ ।
यहाँको आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धन र व्यापार व्यवसाय फस्टाउने अपेक्षा भए पनि सञ्चालनमा आएको एकवर्षमै विमानस्थल बन्द हुँदा हवाई सेवाबाट समेत वञ्चित हुनुपरेको पाटनका स्थानीय दिनेश जोशीले बताउनुभयो । हवाई उडान बन्द हुँदा बैतडीबाट आकस्मिक रूपमा प्रदेश राजधानी धनगढी जाने यात्रु र बिरामीलाई समस्यामा हुने गरेको छ । उहाँले भन्नुभयो,“ नियमित उडानले आर्थिक विकासको अपेक्षा रहेको भएपनि डेढ वर्षदेखि विमानस्थलमा जहाज आएको छैन । नियमित हवाई सेवा सञ्चालनका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।”
डेढ वर्षयता पाटन विमानस्थलमा व्यावसायिक उडान नहुँदा झण्डै १६ करोडका संरचनाहरू प्रयोगविहीन बनेका छन् । तीन वर्षअघि परीक्षण उडान सफल भएपछि खुसी भएका स्थानीयहरू डेढ वर्षयता पाटन विमानस्थलमा जहाज नआउँदा करोडौंका संचरनाहरू प्रयोगविहीन बनेका छन् ।
जहाज नआउँदा पाटन विमानस्थलको धावनमार्गमा स्थानीयहरूले टिकटक बनाउने थलोका रुपमा परिणत भएको छ । उडान बन्द भएपछि अहिले धावनमार्गमा टिकटक बनाउने,फोटो खिच्ने स्थलका रुपमा परिणत भएको हो ।
द्वन्द्वकालका बेला विमानस्थलका संरचनामा आगजनी गरी ध्वस्त भएपछि २०५२ सालयता पूर्ण रूपमा विमानस्थल बन्द रहेको थियो । २०३६ सालदेखि २०५२ सालसम्म नियमित उडान हुने पाटन विमानस्थल द्वन्द्वका बेला विमानस्थलका संरचनामा आगजनी गरी ध्वस्त भएपछि बन्द भएको थियो ।
२६ वर्षपछि २०७७ असोज १७ गते समिट एयरले नै परीक्षण उडान र असोज ३० गतेदेखि धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा नियमित रुपमा हवाई सेवा शुरु गरेको थियो ।