धनगढी, ११ भदौ / धनगढीको स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पतालमा पत्थरीको शल्यक्रिया गरेका बिरामीको मृत्यु भएको छ।
कञ्चनपुरको बेलौरी नगरपालिका– १०, शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो। मिर्गौलामा रहेको पत्थरी निकाल्न शल्यक्रिया गर्दा त्रुटि भएपछि रक्तस्राव भएर बिरामीको मृत्यु भएको आफन्तले बताएका छन्।
पत्थरीको शल्यक्रियाका लागि शनिबार बिहान उनलाई अस्पताल भर्ना गरिएको थियो। आफन्तका अनुसार उनको दुवै मिर्गौलामा पत्थरी थियो। बायाँ मिर्गौलाको पत्थरीको शल्यक्रिया गर्न शनिबार दिउँसो डेढ बजे उनलाई शल्यक्रिया कक्षमा लगिएको थियो।
दूरबिनबाट शल्यक्रिया गरेर पत्थरी झिकिएको थियो र राति ८ बजेतिर बिरामी चौधरीको अवस्था जटिल बनेको थियो। अवस्था जटिल बन्दै गएपछि डाक्टरलाई खबर गरेको र डाक्टरले चेक गर्दा मिर्गौलाको नसा काटिएकाले रक्तस्राव भएको जानकारी गराएको आफन्तले बताएका छन् ।
‘डाक्टरले बिरामीको ज्यान जोगाउन पुनः शल्यक्रिया गरेर मिर्गौला झिक्नुपर्छ भने। ज्यान जोगिन्छ भने मिर्गौला झिक्न सहमत भयौँ,’ मृतकका छोरा बुद्धिरामले भने, ‘राति मिर्गौला झिकियो, तर बिरामीको अवस्था सामान्य बनेन।’
मिर्गौला झिकिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो। आइतबार बिहान अस्पतालले बिरामीको स्वास्थ्य जटिल बनेको खबर गरेको मृतकका भाइ विष्णुप्रसादले बताए। चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको उनले बताए।
अस्पतालका अध्यक्ष महेश जोशीले शल्यक्रियाका क्रममा रक्तस्राव भएपछि बिरामीको मिर्गौला झिकिएको बताए। रक्तस्रावका कारण बिरामीको मृत्यु भएको उनले बताए। ‘किड्नी निकालिएपछि बिरामीको अवस्था सामान्य हुनुपर्ने हो, तर भएन,’ उनले भने, ‘आज बिहान बिरामीको मृत्यु भयो।’
अस्पतालका अनुसार डा.जोसेफ तिवारीको टोलीले पत्थरीको शल्यक्रिया गरेको थियो। मृतकका आफन्तले क्षतिपूर्ति र उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग गरेका छन्।