धनगढी, २४ साउन / सुदूरपश्चिम प्रदेश सभा अन्तरगतको संसदीय समितिको भागबन्डा टुङ्ग्याउन कार्य दल गठनको तयारी गरिएको छ । यहाँका सत्ता साझेदार दल तथा प्रतिपक्षी दलबीच संसदीय समितिको जिम्मेवारी बाँडफाँडको लागि कार्य दल गठनको तयारी गरिएको हो ।
जिम्मेवारी बाँडफाँडको लागि मुख्यमन्त्री कमल बहादुर शाहसहित मन्त्रीहरू र सभामुख भीम बहादुर भण्डारीबीच छलफल भएको छ । छलफलपछि कार्यदल बनाएर अगाडि बढ्ने निष्कर्षमा पुगेको सभामुख भण्डारीले जानकारी दिए। सभामुख भण्डारीले भने, ‘संसद्लाई बिजनेस दिने र संसदीय समितिको निर्वाचनबारे छलफल भयो । मैले त हालको ४ वटा समितिको जिम्मेवारी टुङ्गाउनुपर्नेमा जोड दिएका थिए ।
तर २ वटा समिति थप्ने राजनीतिक सहमतिपछि त्यसको लागि कार्यदल बनाएर अगाडि बढ्ने कुरो भयो।’ केही सांसदहरू हाल प्रदेश बाहिर रहेको बताउँदै उनले २र३ दिनमा टुङ्गो लाग्ने बताए। सरकारले पूर्णता पाएसँगै मिनी पार्लियामेन्टको रूपमा लिइने संसदीय समितिको भागबन्डाको लागि यहाँ दलहरुबीच कसरत अगाडि बढेको छ। ४ वटा मात्रै संसदीय समिति रहेको यहाँ दलीय भागबन्डा पुर्याउनलाई कानुन संशोधन गर्नेसम्मको छलफल दलहरुबीच अगाडि बढेको छ।
सरकार पूर्णता दिनुभन्दा त्यसको पूर्वसन्ध्यामा बालुवाटारमा मुख्यमन्त्री कमल बहादुर शाह र नागरिक उन्मुक्ति पार्टीबीच २ संसदीय समितिको सभापति दिने सहमतिपछि कानुन संशोधन गर्नुपर्ने अवस्था सिर्जना भएको हो । जसअनुसार यहाँ ६ वटा समिति पुग्ने भएको छ । हाल यहाँ सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र विधायन तथा प्रदेश मामिला समिति रहेको छ । २ वटा समिति थपिने भएपछि रहेका ४ वटामध्ये २ वटा समितिलाई फुटाउनुपर्ने देखिन्छ ।