कैलाली , ५ साउन ÷ पछिल्लो समयमा विभिन्न नाममा कैलालीको वन क्षेत्र घट्दै जान थालेको छ। जिल्लामा व्यक्ति विशेष, मुक्त कमैया, सुकुम्बासी, बाढीपीडित, पहिरोपीडितबाट संस्थागतरूपमा वन अतिक्रमण हुन थालेपछि वनको क्षेत्र घट्दै जान थालेको हो।
पूर्व(पश्चिम राजमार्गको उत्तरपट्टि खुटिया दिपायल द्रुतमार्ग तथा सेती लोकमार्ग निर्माणले तराईको भावर र चुरे क्षेत्रको वन विनाश हुने देखिएको छ । भावर र चुरे क्षेत्रमा हुने वन विनाशले वातावरणमा असन्तुलन भई तराईमा डुबानको खतरा बढ्दै गएको छ।
कैलालीका १३ वटा स्थानीय तहका विभिन्न स्थानमा वन अतिक्रमण गरी घरटहरा निर्माण भइरहे पनि वन कार्यालयले अतिक्रमण हटाउन चासो दिएको छैन । गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिकाको मसुरिया, पहलमानपुर, लम्कीको बल्चौर, धनगढी उपमहानगरपालिकाको फूलबारी, कैलारी गाउँपालिकाको वसन्तालगायतका क्षेत्रमा वन अतिक्रमण गरी घरटहरा निर्माण गरिएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ।
कैलालीमा सबैभन्दा बढी वसन्ता वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । वसन्ता क्षेत्रमा आठ हजारभन्दा बढी मानिसले बाढीपीडितका नाममा वन अतिक्रमण गरी घरटहरा निर्माण गरेका छन् । वन अतिक्रमणले वसन्ता जैविकमार्गको ‘कनेक्टीभिटी’ जोखिममा पर्नुका साथै वन क्षेत्र खण्डित भइरहेकाले वन्यजन्तुको बासस्थान विनाश भइरहेको, अवैध चोरी निकासी–तस्करी र शिकारलगायतका क्रियाकलापले वन संरक्षणमा चुनौती थपिएको डिभिजन वन कार्यालय धनगढीका वन अधिकृत भीम ढकालले बताए।
कैलालीमा कुल क्षेत्रफलको दुई लाख पाँच हजार नौ सय ३९ हेक्टर ९६२ दशमलव ६८ प्रतिशत० वन रहेको छ। तराई र भावर क्षेत्रमा एक हजार नौ सय ३१ वर्गकिलोमिटर ९५९ दशमलव ७० प्रतिशत० र चुरे क्षेत्रमा एक हजार तीन सय तीन दशमलव सात वर्ग किलोमिटर ९४० दशमलव ३० प्रतिशत० वन रहेको तथ्याङ्क छ।
सुदूरपश्चिममा सबैभन्दा बढी वन क्षेत्र कैलाली र कञ्चनपुरमा रहेको छ। वन विनाश र अतिक्रमणको समस्या पनि अन्य जिल्लाको तुलनामा यी दुई जिल्लामा बढी रहेको तथ्याङ्कले देखाएको छ । कैलालीमा हालसम्म २५ हजार हेक्टर वन क्षेत्र अतिक्रमण भएको अनुमान गरिएको छ। तर सरकारी तथ्याङ्कले २१ हजारभन्दा बढी वन अतिक्रमण भएको देखाउँछ । तथ्याङ्कले देशभरकै सबैभन्दा बढी कैलालीको वन क्षेत्र अतिक्रमण भएको देखाएको छ ।
कैलालीमा बढ्दो सहरीकरण, प्रदेशको राजधानी, स्वास्थ्य, शिक्षा, यातायातलगायत सुविधाका कारण पहाडबाट बसाइँ सर्ने दर अत्यधिक छ। बसाइँ सरेर आएका कतिपयले वन अतिक्रमण गरी घरटहरा निर्माण गर्ने गरेको वन प्राविधिकको भनाइ छ । कैलालीमा निर्माणाधीन राष्ट्रिय र प्रदेश गौरवका आयोजना निर्माणले वन मासिने क्रम बढ्दै गएको छ। दिनानुदिन भएको वन क्षेत्र मासिँदै जाने, संरक्षणमा ध्यान नदिने हो भने भविष्यमा यसको असर गम्भीर देखिने खतरा बढेको वन संरक्षणकर्मी पुष्कल बमको भनाइ छ।