धनगढी २७ असार/कैलालीको गोदावरी १२ ओलानीको चुरे क्षेत्रमा रहेको रातोपानी सामुदायिक वनमा अबैध रुपमा रुख काटिएका छन् । झण्डै एक सयको संख्यामा सालका हरिया र सुकेका रुख काटेर वनभित्रै चिरान गरेको स्थानीय उपभोक्ताको आरोप छ ।
सामुदायिक वनका अध्यक्ष कैलाश विक र वन कर्मचारीकै संलग्नतामा सो सामुदायिक वनमा फडानी बढेको उपभोक्ताहरुको गुनासो छ । वन फडानीमा संलग्न दुई जनालाई स्थानीयले पक्राउ गरेर वन कार्यालयमा बुझाएका थिए । सामुदायिक वनका अध्यक्ष कैलाश विकका भाई कर्णहादुर विक र स्थानीय टेकराज ओझा वन फडानीमा संलग्न रहेको भन्दै वन कार्यालयले दुबै जनालाई पक्राउ गरिएको छ ।
दुवै जना विरुद्ध वन मुद्दा दायर गर्ने तयारी भएको ईलाका वन कार्यालय अत्तरियाका अधिकृत निरञ्जन कडालले बताए । सो क्षेत्रमा एक सय ९० क्यूफिट काठ बरामद भएको उनले बताए । सो क्षेत्रमा ठुलो मात्रामा सालको रुख कटानी भएको हो । करिब ९० देखि एक सयको संख्यामा सालका रुख काटिएको उनले बताए ।
रातो पानी सामुदायिक वन चूरे क्षेत्रको भावर हो। सो वनमा लामो समयदेखि भइरहेको वन फडानीका विषयमा स्थानीयले पटक–पटक वन कार्यालयमा जानकारी गराउँदै आए पनि कसैलाई कारवाही हुने गरेको थिएन्। त्यसपछि स्थानीय आफै वन संरक्षका लागि सक्रिय भएको उपभोक्ताहरु ब्ताउछन् । सामुदायिक वनका अध्यक्ष कैलाश विककै संलग्नतामा चोरी तस्करी भइरहेको भन्दै उपभोक्ताले उनको राजीनामा समेत माग गरेका छन्।