धनगढी, १६ मङ्सिर – सुदूरपश्चिम सरकारले आगामी २० गते धनगढीमा आयोजना गर्न लागेको वित्तीय सम्मेलनको तयारी तीव्र पारिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सोमवार मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरी तयारी तीव्र पारेको जनाएको छ ।
‘वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आगामी २० गते धनगढीमा एक दिवसीय वित्तीय सम्मेलन आयोजना हुन गइरहेको र त्यसको तयारी तीव्र पारिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले बताए ।
सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने मन्त्री वोहराले जानकारी दिए । उनी सँगै सम्मेलनमा केन्द्रबाट अन्य ४ जना मन्त्रीलाई आमन्त्रण गरिएको छ ।
सम्मेलनमा विषयगत क्षेत्रका सरोकारवाला लगायत गरी साढे ४ सय बढीको सहभागिता रहने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
प्रदेशमा वित्तीय साक्षरता अभिवृद्धि सँगै बाह्य लगानीको वातावरण तयार पार्नका लागि समेत सम्मेलन आयोजना गर्न लागेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
साथै प्रदेशका जनताको वित्तीय साक्षरतामा पहुँच बढवा गरी आर्थिक समृद्धि गर्ने उद्देश्यले वित्तीय सम्मेलन आयोजना गर्न लागिएको प्रदेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमनराज अर्यालले बताए ।
सुदूरपश्चिम प्रदेशमा अहिले पनि वित्तीय पहुँचसम्म सबै स्थायी तहमा पुग्न सकेको छैन । वित्तीय साक्षरताको कमीले त झन् बैङ्क तथा वित्तीय सङ्घ संस्था प्रति स्थानीयको विश्वास समेत छैन ।
त्यस कारण यसले वित्तीय साक्षरता अभिवृद्धिमा मुख्य टेवा पु¥याउने अर्यालको विश्वास छ । प्रदेश सरकारले यसै वर्ष लगानी सम्मेलन गर्ने समेत जनाएको छ । यद्यपि त्यसको तयारीमा भने सरकार जुटिसकेको छैन ।
