धनगढी, १४ असार/कैलालीको घोडाघोडी नगरपालिका – ४, रामपुरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा धमाधम बेहोस हुन थालेपछि छात्राको ग्रहशान्तिका लागि पूजा लगाइएको छ। शिक्षा र चेतनाको सन्देश फैलाउने विद्यालयले नै छात्रालाई मनोविज्ञान तथा स्वास्थ्य शिक्षासम्बन्धी ज्ञान दिनुपर्नेमा उल्टै पूजा लगाई सामाजिक अन्धविश्वासलाई नै प्रश्रय दिएको स्पष्ट हुन्छ ।
यहो मङ्गलबारदेखि छात्रा बेहोस हुन थालेपछि निराकरणको उपायस्वरूप पूजा लगाएको बताइएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष बमबहादुर सिंहले ६ देखि १० कक्षा पढ्ने अधिकांश छात्रामा बेहोस हुने, कराउने र बर्बराउने समस्या देखिएको बताए ।उनले अभिभावकको सल्लाह अनुसार नै विद्यालय परिसरमा छात्राको ग्रहशान्तिका लागि पूजापाठ तथा होन गरिएको बताए । उक्त समस्या समाधानका लागि विभिन्न उपाय अपनाउँदा पनि ठिक नभएपछि सबैको सुझाव अनुसार शान्तिपूजा लगाइएको उनको भनाई छ।
अभिभावक तथा अन्य सबैबाट पूजा गर्न दबाब आएपछि मङ्गलबार विधि विधान अनुसार पूजा सम्पन्न गरिएको उनले बताए घोडाघोडी नगरपालिकामा ५१ वटा सामुदायिक विद्यालय छन् ।अधिकांश विद्यालयमा छात्रा बेहोस हुने, बर्बराउने चिच्याउने समस्या देखिएको छ । घोडाघोडी नगरपालिका शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंहले कक्षा ७ देखि माथिको कक्षामा अध्ययन गर्ने छात्रामा त्यस्तो समस्या रहेको बताए ।
पहाडबाट बसाइँसराइ गरी आएका समुदायका छात्रामा यस्तो समस्या बढो देखिएको बताइएको छ तर थारू समुदायका छात्रामा भने त्यस्तो कुनै समस्या नदेखिएको उनले बताए ।