धनगढी, १६ जेठ/धार्मिक र ऐतिहासिक महत्व बोकेको बेहडाबाबा मन्दिरमा सोमबारदेखि गंगादशहरा पूजा तथामेला सुरु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडा बाबामा हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन गंगा दशहरा पूजा तथा धार्मिक मेला लाग्ने गर्दछ । मेला जेठ १९ गतेसम्म चल्ने छ ।
यसैबीच, बेहडा बाबा मन्दिर व्यवस्थापन सेवा समितिले दर्शनार्थी, आगन्तुक एंव धार्मिक पर्यटकहरुलाई लक्षित गरी शतर्कता बढाएको छ ।समितिका अध्यक्ष पदमराज जोशीले मन्दिर तथा मेलाको सुरक्षाको लागि सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिनुको साथै स्वंयसेवक परिचालन गरिएको बताए ।
मेलामाखानेपानीको व्यवस्था गरिनुको साथै शौचालय, बस व्यवसायीहरुको सहकार्यमा धनगढीदेखि मन्दिरसम्म बस सञ्चालन गरिएको छ । मेलामा ६ सय बढी विभिन्न किसिमका व्यापारिक स्टल, बच्चा झुलालगायत राखिएका छन् । यस वर्ष करिब ५ लाख बढी दर्शनार्थी तथा आगन्तुकको जमघट हुने अनुमान समितिको छ ।