जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री भएदेखि संविधानविरोधी काम गर्न थालको आरोप लगाएका छन्। शुक्रबार सप्तरीको रुपनीमा आयोजित पार्टीको जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति निधिले भने, ‘जनतालाई शोषण र दमन गर्ने संविधानविरोधी कार्यको सोच केपी शर्मा ओलीलाई दुई तिहाईको दम्भमा प्रधानमन्त्री बनेदेखि आएको हो।’
लोकतान्त्रिक मान्यता र सिद्धान्तविपरीत मात्रै होइन संविधानलाई समेत कुल्चेर प्रधानमन्त्रीले विभिन्न विधेयक र नियम ल्याइरहेका छन्। जनताको हित र अधिकारका लागि हामी सबैले प्रधानमन्त्रीले गर्दै आएको संविधानविरोधी कार्यको विरोध गर्नुपर्छ।’ उनले भने।
प्रधानमन्त्री ओलीको क्रियाकलापबाट मधेसका जनता मात्रै होइन, पहाड र हिमालका जनतासमेत दुःखी छन्। कम्युनिष्टहरुको मुलुकप्रतिको नाकारात्मक सोच अब सबै जनताले बुझिसकेका छन्। तराई मधेश, ‘पहाड र हिमालका लागि काम गर्ने कुनै पार्टी हो भन्ने त्यो नेपाली कांग्रेस हो।’
अर्को प्रसंगमा उपसभापति निधिले भने, ‘मधेशी जनतालाई कम्युनिष्ट पार्टीहरुले मात्रै धोका दिएका छैनन्, आफूलाई मधेशवादी भनेर पार्टीको नाममा ‘मधेसी’ लगाएर हिँडने र अवसर पाएपछि त्यो ट्याग हटाएर भजाउने काम गरेका मधेसवादी दलले पनि उत्तिकै धोका दिएका छन्।’
मधेसी जनतालाई विश्वास गर्ने वैकल्पिक पार्टी अब नेपाली कांग्रेस नै रहेकोले नेता तथा कार्यकर्ताहरुलाई त्यसमा योजनाबद्ध रुपमा जनताका काम गर्न निर्देशन दिए। क्षेत्रीय सभापति रामप्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा। डिला संग्रौला, अभियानका केन्द्रीय प्रतिनिधि महेन्द्र यादवलगायत केन्द्र तथा जिल्लाका नेताहरुले आ आफ्ना धारणा राखेका थिए।
शुक्रबार सप्तरीको रुपनीमा आयोजित पार्टीको जागरण अभियान कार्यक्रममा उपसभापति निधि।
