काठमाडौं, २८ कात्तिक । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी राष्ट्रिय फुटबल टिम नेपाल आइपुगेको छ । कात्तिक ३० गते हुने एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी टिम आइतबार राति नेपाल आइपुगेको हो । दशरथ रंगशालामा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ ।
पाकिस्तानसँगको खेलका लागि अखिल नेपाल फुटबल संघ ९एन्फा० मछिन्द्र क्लबका प्रवेश कटुवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिँदा रोहित चन्दलाई कप्तानी सुम्पिएको छ । नेपालले पछिल्लो पटक दशरथ रंगशालामा असोजमा ११ गते बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेलेको थियो ।
पाकिस्तानी टिम नौ वर्षपछि नेपाल भ्रमणमा आएको हो । पाकिस्तानी टिम पछिल्लो पटक सन् २०१३ को साफ च्याम्पियनसिपका लागि नेपाल आएको थियो । यसै वर्षको जुन १ मा विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिबन्धबाट फुकुवा भएको पाकिस्तान नेपालसँगको खेलसँगै पुनः अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको हो ।
नेपाल र पाकिस्तानबीच पछिल्लो पटक सन् २०१८ को साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको थियो ।