धनगढी, १६ असोज / बिहीबार धनगढीमा बालविवाह न्यूनीकरणमा भलमनसाको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । बालविवाह न्यूनीकरणका सवालमा भलमनसासँग गरिएको कार्यक्रममा बालविवाह न्यूनीकरणका लागि भलमनसाको भूमिका महत्वपूर्ण रहेको बताइएको हो । भलमनसाले थारू समुदायका पूरै गाउँको नेतृत्व गर्ने गर्छन् । यो समुदायमा पनि बालविवाह धेरै भइरहेकाले त्यस्तो विवाहलाई भलमनसाले रोक्न सक्ने सहभागीको भनाइ छ ।
मुलुकी अपराध संहिता ऐन, २०७४ ले उमेर २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाहका रूपमा परिभाषित गरेको छ । यस्तो विवाह कसैले गरे वा गराए स्वतः बदर हुनुका साथै दण्ड सजायको भागीदार हुने व्यवस्था छ । त्यस्तै बालबालिकासम्बन्धी ऐन, २०७५ ले बालबालिकासँग विवाह गर्नु, गराउनु बालबालिकाविरुद्धको कसुर मानेको छ । समाजमा नागरिकका सबैभन्दा नजिकको मानव अधिकार रक्षक थारू समुदायका भलमनसा रहेकाले बालविवाह न्यूनीकरणमा तिनको भूमिका अत्यन्त महत्वपूर्ण रहेको राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय धनगढीका प्रमुख प्रकाशदत्त भट्टले बताए ।
उनले कतिपय अवस्थामा केटा वा केटीको पक्षबाट विवाहका लागि भलमनसाहरूले अगुवाइसमेत गर्ने गरेकाले अब विवाहको कुरासँगै नागरिकता हेरेर कुरा अगाडि बढाउन अग्रसर हुनुपर्ने उल्लेख गरे । राष्ट्रिय जनगणना, २०७८ अनुसार सुदूरपश्चिम प्रदेशमा २९.१ प्रतिशत बालविवाह रहेको छ । यस प्रदेशमा आर्थिक वर्ष २०७९र८० मा तीन हजार ८१७, आव २०८०र८१ मा तीन हजार ९९२ र आव २०८१र८२ मा चार हजार १८२ बालिकाले २० वर्ष नपुग्दै गर्भधारण गरेको तथ्याङ्क छ ।
प्रदेशका नौ वटै जिल्लामा बालविवाह भइरहेको छ । थारू समुदायमा पनि यो समस्या भयावह रहेको कञ्चनपुरको बेलौरी नगरपालिकास्थित टेढुवागाउँका भलमनसा विक्रम बखरियाले बताए । उनले १५र१६ वर्षकै उमेरमा बालबालिका एकसाथ बस्ने परिपाटी गाउँघरमा पनि अत्यधिक रहेको उल्लेख गरे । बेलौरी नगरपालिकाको कार्यपालिका सदस्यसमेत रहेका बखरियाले बालविवाह न्यूनीकरणका लागि वडा कार्यालयबाट सिफारिस नहुँदासम्म विवाहका लागि निम्तो कार्ड छाप्ने र बाँड्ने कार्य गर्न नहुने व्यवस्था गर्न आवश्यक रहेको उल्लेख गरे । वडाले नै सिफारिसका लागि नागरिकतालगायतका आवश्यक कागजात माग गरेपछि केटाकेटीको उमेर प्रस्टै हुने भन्दै उहाँले विवाहभन्दा अगाडि सतर्क भएमा बालविवाह रोक्न सकिने बताए ।
थारू अगुवा ठाकुर करिया प्रधानले भलमनसाले प्रभावकारी रूपमा बालविवाह रोक्नका लागि सबैभन्दा पहिले यो समुदायमा बालविवाहको अवस्था विश्लेषण गरी कानुनी ज्ञान हासिल गर्न जरुरी रहेको उल्लेख गरे । त्यसपछि मात्रै बालविवाह न्यूनीकरणको उपायतिर लाग्दा उत्तम हुने करिया प्रधानको भनाइ छ ।