७ मङ्सिर, २०७६ पोखरा । १३औँ दक्षिण एसियाली खेलकुद (साग )अन्तर्गत पोखरामा सञ्चालन हुने आठ खेलमा ६६२ खेलाडी सहभागी हुने भएका छन् । मंसिर १५ गते देखि २४ सम्म आयोजना हुने सागमा २७ खेल समावेश गरिए पनि नेपालबाहेक अन्य देशबाट खेलाडी दर्ता नहुँदा प्याराग्लाइडिङ प्रतियोगिता नहुने निश्चित भएको छ ।
जम्मा २६ खेलमध्ये पोखरामा हुने आठ खेलका लागि सार्क राष्ट्रबाट महिला चार सय एक र पुरुष दुई सय ६१ जनाको सहभागिता रहने साग पोखरा प्रचारप्रसार संयोजक केशव पाठकले जानकारी दिए । प्रतियोगितामा एक सय ७२ अफिसियल सहभागी हुँदै छन् । आयोजक नेपालको आठवटै खेलमा सहभागिता रहनेछ जसमा ५२ पुरुष र एक सय दुईजना महिला तथा ३० अफिसियल सहभागी हुँदै छन् । मालदिभ्स्ले आर्चरी, भारोत्तोलन र ट्रायथोलनमा सहभागिता जनाएको छैन ।
पाँच खेलमा महिला ६१ र पुरुष २६ खेलाडी तथा २९ अफिसियलको सहभागिता रहेको छ । भारतले आर्चरी र क्रिकेटबाहेकका प्रतियोगितामा सहभागिता जनाउँदै छ । भारतबाट ४१ पुरुष र ६१ महिला सहभागी हुँदै छन् । बंगलादेशबाट ६ खेलका लागि पुरुष ४४, महिला ५५ र ३० अफिसियल रहेका छन् । बंगलादेशले महिला फुटबल र ट्रायथोलनमा सहभागिता जनाएको छैन । पाकिस्तानले महिला फुटबल, महिला क्रिकेट र ट्रायथोलनबाहेकका प्रतियोगितामा पुरुष ३८, महिला ३५ र अफिसियल २१ सहभागी गराउँदै छ । त्यसैगरी, श्रीलंकाले आठवटै प्रतियोगितामा पुरुष ४६, महिला ८१ र अफिसियल ३३ जनाको सहभागिता जनाउनेछ ।
भुटानले ह्यान्डबल, महिला फुटबल, बिच भलिबल र ट्रायथोलनमा सहभागिता जनाएको छैन । भुटानबाट चार खेलका लागि पुरुष १४, महिला ६ र अफिसियल चार गरी २४ मात्र सहभागी हुँदै छन् । पोखरामा हुने आठ खेलमध्ये ब्याडमिन्टन १५ गतेबाट ब्याडमिन्टन कभर्ड हलमा हुनेछ । महिला क्रिकेट १६ गते पोखरा रंगशालाभित्रको क्रिकेट मैदान तथा आर्चरी १६ गतेबाट शुरु हुनेछ ।
ट्रायथोलन १६ गतेबाट सुरु हुनेछ । महिला÷पुरुष ह्यान्डबल १८ गते तथा बिच भलिबल, भारोत्तोलन र महिला फुटबल ९ गते बाट सुरु हुनेछ । बिच भलिबल बाराहीघाटस्थित बीच भलिबल कोर्टमा हुनेछ । भारोत्तोलन माटेपानीस्थित केसी क्याटरिङको हलमा हुनेछ । फुटबलका लागि गौरीशंकर खेलमैदान पोखरा–२५, गोस्तेघाट लामाचौर र नेपाली सेनाको पश्चिम पृतना विजयपुरमा अभ्यासस्थल तोकिएको छ । क्रिकेटको अभ्यासस्थल नगर विकास प्रशिक्षण केन्द्रलाई तय गरिएको छ ।