धनगढी, ३ मंसिर
धनगढी उप–महानगरपालिका, युएनडिपीको सहयोग तथा सेवक नेपालको साझेदारीमा एकल महिलाका लागि संचालित नास्ता बनाउने तालिमको मंगलबार समापन गरिएको छ ।
तालिममा धनगढी उप–महानगरपालिका क्षेत्रका १६ जना भन्दा बढी आर्थिक अवस्था कमजोर भएका परिवारका एकल महिलाहर सहभागि रहेका थिए । एक साताको तालिममा फाष्टफुडहरु चाउमिन, मम, समोसा लगायतका नास्ता बनाउने तालिम दिईएको थियो । तालिम लिएका महिलाहरुलाई चाउमिन, मम बनाउने झण्डै ५ हजार बराबरको भाडाकुडाहरु समेत सहयोग गरिएको छ ।
तालिमको समापनमा बोल्दै धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले एकल महिलाको जिवनस्तर माथी उठाउनका लागि एकल महिला लक्षित कार्यक्रम संचालन गरिएको बताए । उनले भने, यस कार्यक्रममा ४० प्रतिशत धनगढी उप–महानगरपालिका र ६० प्रतिशत युएनडिपीको सहयोग रहेको छ ।
त्यसैगरी धनगढी उप–महानगरपालिका, युएनडिपीको सहयोग तथा सेवक नेपालको साझेदारीमा एकल महिलाका लागि संचालित ढाका बुनाई तालिम पनि मंगलबार देखि संचालन गरिएको नगरप्रमुख वडले बताए । ढाकाको उत्पादनको राम्रो बजार भएकाले एकल महिलाले उत्पादन गर्ने कपडा, ढाकाको टोपी, सल तथा झोलाहरुले राम्रो बजार पाउने नगरप्रमुख वडले बताए ।
तालिमको समापन कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिकाका उप–प्रमुख शुसीला मिश्र भट्टले एकल महिलाको अवस्थामा सुधार ल्याउनका लागि उद्यमशिलता नै उत्तम बिकल्प भएको बताईन । उनले भनिन्, एकल महिलालाई उत्पादनशिल कार्यमा लगाउनका लागि नै यि तालिमहरु संचालन गरिएका हुन ।