बैतडी, ११ जेठ । बैतडीको पुर्चोडी नगरपालिकाले सहिद परिवारहरुलाई सम्मान स्वरुप प्रतिपरिवारलाई वार्षिक २५ हजारका दरले निर्वाह खर्च उपलब्ध गराउने निर्णय गरेको छ। नवनिर्वाचित नगरप्रमुख दीपकबहादुर बम र उपप्रमुख मीना धानुकले पदभार ग्रहण गर्दै उक्त निर्णय गरेका हुन्।
साथै जनयुद्धका घाइतेहरूका लागि निःशुल्क उपचार हुनेगरी स्वास्थ्य बिमा गर्ने निर्णय समेत गरिएको छ। यसैगरी नगरपालिकाले पालिकाको केन्द्रमा रहेको पुर्चोडी हाट स्वास्थ्यचौकीबाट आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना १ साउनदेखि नै एक्सरे तथा भिडियो एक्सरेसहितको चिकित्सकीय सेवा सुचारु गर्ने निर्णय पनि गरिएको छ। यसैगरी ज्येष्ठ नागरीक तथा दिर्घ रोगीहरुको निशुल्क स्वास्थ्य परीक्षण र उपचारका लागि गाउँघरमै चिकित्सक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको छ।
पुर्चौडी नगरपालिकाका १० वटै वडाहरूमा विद्युत् विस्तार कार्य प्रारम्भ गरी दुई वर्षभित्रमा उज्यालो पुर्चोडी घोषणा गर्ने निर्णय पनि गरिएको छ।
