धनगढी, ५ वैशाख । कैलालीको अत्तरिया चोकमा स्वर्गीय राजा राजा महेन्द्रको सालिक अनावरण गरिएको छ। सालिक पुनः निर्माण समिति गोदावरी अत्तरियाले स्थानीयको पहलमा सोमबार उक्त सालिक राखेको हो।
गत असोजमा स्थानीय युवा व्यवसायी हरिदत्त भट्टराईको संयोजकत्वमा सालिका पुनर्स्थापना गर्न नागरिक समिति गठन गरिएको थियो। त्यो समितिले २०६२/०६३ को आन्दोलन पछि तोडफोडमा गरिएको राजा महेन्द्रको शालिक पुनः अत्तरिया चोकमा राख्ने र इतिहासको जगेर्ना गर्ने उद्घोष गरेको थियो।
सर्वसाधारणको तर्फबाट आर्थिक सहयोग संकलन गरेर १५ लाखको लागतमा सालिक निर्माण गरिएको संयोजक हरिदत्त भट्टराईले बताए। ‘ढलोटको शालिक निर्माण गरेर अनावरण गर्दासम्म १५ लाख खर्च भएको छ। इतिहास संरक्षण गर्नुपर्छ भनेर सालिक निर्माण गरेर राखिएको हो। इतिहास मेटाउने काम कसैले गर्नुहुन्न’ उनले भने।
सालिकको लोमस गिरिजी महाराज मठाधिश निरन्जनी अखाडाले अनावरण गरेका छन्। २०६२/६३ को जनआन्दोलनका क्रममा पुरानो सालिक भत्काइएको थियो।