काठमाडौं, २० चैत । सरकारले लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा १० प्रतिशतले बढाएको छ ।यातायात व्यवस्था विभागले स्वचालित भाडा दर कायम गर्दै यात्रुबाहक सवारीको भाडा दर १० प्रतिशतले बढाएको हो ।विभागका अनुसार मालवाहक सवारीका लागि पहाडमा १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार मन्त्री स्तरीय निर्णय गर्दै स्वचालित भाडा दर कायम गर्ने निर्णय गरेको थियो ।पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धिलाई मध्यनजर गर्दै लामो दूरीमा चल्ने सवारी साधनको भाडा बढाउने निर्णय गरिएको विभागका प्रवक्तासमेत रहेका उपसचिव डा.लोकनाथ भुसालले जानकारी दिए ।
पेट्रोलियम पदार्थमा न्यूनतम मूल्य पाँच प्रतिशत घटबढ हुनासाथ स्वचालित भाडा दर अनुसार गाडी भाडा समायोजन हुनेछ ।गाडीका पार्टपुर्जासहित अन्य पक्षको मूल्यवृद्धिको भने हरेक वर्ष चैतमा पुनरावलोकन गरेर भाडा समायोजन गरिने जनाइएको छ ।
यसअघि सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्था अनुसार पेट्रोलमा पाँच रुपैयाँ मूल्य घटबढ भएपछि मात्र भाडा समायोजन हुँदै आएको थियो ।उक्त व्यवस्था प्रभावकारी नभएपछि विभागको प्रस्तावमा मन्त्रालयले पाँच प्रतिशत मूल्य घटबढ भए मात्रै समायोजन गर्ने स्वचालित प्रणाली लागू गरेको हो ।
