धनगढी, १४ चैत । धनगढीमा नवनिर्मित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र साप्ताहिक स्वास्थ्य क्लिनिकको भवन उद्घाटन गरिएको छ ।धनगढी उपमहानगरपालिका–७, देवहरियामा नवनिर्मित साप्ताहिक स्वास्थ्य क्लिनिकको भवन नगर प्रमुख नृपबहादुर वडले उद्घाटन गरे ।
योसंगै धनगढी उपमहानगरपालिकाले १७ वडामा आफ्नै भवनमार्फत सेवा सुचारु गर्न सफल भएको छ । स्थानीय तहको निर्वाचनअघिउपमहानगरपालिकामा तीन वडा बाहेक अन्यमा आफ्नो भवन थिएन ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले पहिले नै उद्घाटनको तयारी भएपनि बिबिध कारणले उद्घाटन हुन नसकेको बताए । ‘हामी आउनुअघि तीन वडामा मात्र भवन थियो’ नगर प्रमुख वडले भने, ‘अहिले १७ वडामा हाम्रो आफ्नै स्वास्थ्य कार्यालय छ । दुई वडामा भने जमिनका समस्याका कारण भवन बनाउन सकिएको छैन ।’
सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र बेलीका इन्चार्ज डाक्टर सिद्धराज आचार्यले क्लिनिकबाट खोप, गाउँघर क्लिनिक, जेष्ठ नागरिक क्लिनिक, गर्भवतिलगायतका जाँचसंगै औषधी उपलब्ध गराउँने बताए । ‘क्लिनिक हाम्रै शाखा अन्तर्गत पर्छ’ डाक्टर आचार्यले भने, ‘त्यहाँबाट स्वास्थ्यकर्मी नियमित खटाएर हामी यहाँ पनि स्तरीय स्वास्थ्य सेवा दिन्छौ ।’
