धनगढी,१४ चैत । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले तीव्र गतिमा सवारी गुडाउनेलाई कारबाही गर्ने भएको छ । सडक दुर्घटना रोक्न तथा सवारी साधनको तीव्र गति रोक्न ट्राफिक प्रहरीले आधुनिक उपकरण ‘लिडार स्पिड गन’ प्रयोगमा ल्याएको हो ।
सोमबारबाट कैलालीको अत्तरिया चौराहामा १ सय २० मिटर अगाडिबाट ट्राफिकले ‘लिडार स्पिड गन’ (गति मापन यन्त्र) माध्यमबाट सवारी कुन गतिमा गुडेको छ पत्ता लगाउँदै तीव्र गतिमा गुडाउने सवारीलाई कारबाही थालेको ट्राफिक प्रहरी निरीक्षक गणेश प्रसाद उप्रेतीले बताए।
सवारी तीव्र गतिमा हाँक्नाले दुर्घटना बढेको भन्दै तीव्र गतिमा सवारी चलाउनेलाई सुरुमा सम्झाइ बुझाई गर्ने र त्यसको पनि व्यवस्था गरिएको पाइएमा कारबाही गरिने उनले बताए। बाक्लो बस्ती, बढी दुर्घटना हुने सडकमा बिस्तारै गुड्न सकिने सडकमा सवारीले तीव्र गतिमा गुडाउन थालेपछि लिडार स्पिड गनको प्रयोग गरिएको ट्राफिक प्रहरी निरीक्षक उप्रेतीले बताए ।
सोमबार मात्रै तीव्र गति गुडाउने ३७ सवारीलाई कारबाही गरिएको छ । जसमा २४ सवारीबाट पाँच सयका दरले जरिवाना लिएर छोडिएको छ । भने १३ सवारी साधनको कागजात नियन्त्रणमा लिएको ट्राफिक प्रहरी निरीक्षक गणेश प्रसाद उप्रेतीले जानकारी दिए।