डोटी, ३० असोज : डोटीको दिपायलमा ‘डोटी प्रिमियर लिग खुल्ला क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ । दुई लाख ११ हजार एक सय ११ प्रथम पुरुस्कार राशीको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो ।
आयोजक संस्था नयाँ समाज नेपालले बिहिबार दिपायलमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्तिक ४ गतेबाट प्रतियोगिता आयोजना हुनलागेको सार्वजनिक गरेको छ ।
‘दिपायलमा बिगतवर्षदेखी ठुला क्रिकेट प्रतियोगिता आयोजना हँुदै आएका छन,’ आयोजक संस्थाका अध्यक्ष रोशन कठायतले भने,‘त्यसको निरन्तरता पनि रहोस र क्रिकेट क्षेत्रमा बिशिष्ठ प्रतियोगिताको पनि सुरुवात गरौ भनेर यो प्रतियोगिता आयोजना गर्न लागेका हौ ।’
प्रतियोगितामा देशभरीकै टीमहरु सहभागि हुनसक्ने आयोजकले जनाएको छ ।
जसमा कम्तिमा १२ वटा टिमहरु आउनसक्ने आयोजकको अपेक्षा छ । ‘हाम्रा अपेक्षा देशका विभिन्न ठाउँका टिमहरु आईदिउन र बिगतबर्षहरुमा जस्तै राष्ट्रिय टिममा रहेर खेलिरहेका खेलाडीहरु दिपायलको मैदानमा उत्रिउन् भन्ने हो,’ अध्यक्ष कठायतले भने । प्रतियोगिता दिपायलस्थित खप्तड रंगशालामा आयोजना हुनेछ ।
प्रतियोगिताका खेलहरु टी–ट्वेन्टी फर्मेटमा हुने आयोजकले जनाएको छ । शुरुवाती खेलहरु लिगमा हुने र क्वार्टरफाईनपछि नकआउट चरणमा खेल हुने जनाईएको छ ।
प्रतियोगितामा ‘प्लेयर अफ द सिरिज’, ‘वेष्ट बलर’ र ‘वेष्ट व्याट्सम्यान’लाई पनि पुरस्कारको व्यबस्था गरिएको आयोजक संस्थाले जनाएको छ । यस्तै क्वार्टरफाईनलपछिका खेलहरुमा ‘म्यान अफ द म्याच’को पनि व्यवस्था रहेको जनाईएको छ । प्रतियोगितालाई डोटीका स्थानीय तहहरुले प्रायोजन गरेका छन् ।
