सुखड,१२ चैत्र । कैलालीको घोडाघोडी नगरपालिका–१० पहलवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार पूर्वपश्चिम राजमार्गमा से६प ८५०३ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक घोडाघोडी–९ का २० वर्षीय तपेन्द्र बूढाको सेती अस्पतालमा उपचारका क्रममा हिजो राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
त्यस्तै, मोटरसाइकल पछाडि सवार घोडाघोडी–९ का १५ वर्षीय अभिषेक खड्का र २१ वर्षीय किरण बूढा सामान्य घाइते भएका कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको उनले बताए।