जनकपुर, २१ फागुन । पोखरा–जनकपुर हवाई सेवा शनिबारदेखि सुरु भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बिहान साढे ११ बजे प्रथम यात्रीको रुपमा पोखराबाट जनकपुर अवतरण गरेका छन्।
जनकपुर–काठमाडौं हवाई सेवा मात्र सञ्चालनमा रहेको जनकपुर हवाई अड्डाबाट अब साताको तीन दिन बुद्ध एयरको बीच एयरक्राफ्ट पोखरासम्म सञ्चालन हुनेछ। १८ यात्री बोक्ने क्षमता भएको उक्त एयरक्राफ्ट सोमबार,बिहीबार र शनिबार विहान साढे ११ बजे जनकपुरबाट उड्ने छ। नेपालका पुराना मध्येका जनकपुर हवाई अड्डाको लम्बाई १ हजार ३ सय मिटर तथा चौडाई ३० फिट छ।
शनिबार भएको पहिलो उडानमा १६ जना यात्री पोखरा गएका छन्। आउँदो सोमबार हुने उडानका लागि सम्पूर्ण सिट बुक भइ सकेको छ। बीच एयर क्राफ्ट १८ सिट क्षमता भएको जहाज हो।
