उदयपुर, १२ फाल्गुन । उदयपुरको त्रियुगा नगरपालिका–६ का वडाध्यक्ष निर्मलकुमार चौधरीले चलाएको मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।गएराति साढे ९ बजेतिर गाईघाटबाट घर जाने क्रममा चौधरीले चलाएको मोटरसाइकलले त्रियुगा नगरपालिका– ५ कुमारी चोकका ५० वर्षीय रामचन्द्र चौधरीलाई ठक्कर दिएको हो ।
रामचन्द्रको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।वडाध्यक्ष सवार नगरपालिकाको स. १ ब ८९७ नम्बरको सरकारी मोटरसाइकलले रामचन्द्रलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलले सडक किरानाको विद्युतको पोलमा पनि क्षति पुर्याएको छ । दुर्घटनामा वडाध्यक्ष चौधरीसमेत घाइते भएको र उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै गाईघाट–कदमा खण्डको सडक बिहान तीन घण्टा अवरुद्ध गरे ।
सर्वपक्षीय छलफलले मृतकलाई कानूनबमोजिम क्षतिपूर्ति दिने र परिवारका सदस्यलाई जागिर लगाइदिने सहमति भएपछि बाटो खुलेको छ । चौधरीको शव जिल्ला अस्पताल गाईघाटमा पोष्टमार्टमका लागि राखिएको छ ।