बैतडी, १२ पुस । बैतडीको सिगास गाउँपालिका वडा नं १ मा तालाबन्दी गरिएको छ । विद्युत विस्तारको क्रममा गरेको कामको भुक्तानी नभएको भन्दै मजदुरहरुले वडा कार्यालयमा सोमबार तालाबन्दी गरेका हुन् ।
विद्युत विस्तारको क्रममा ४ बर्ष अघि काम गरेको पैसा अहिले सम्म नपाएकाले बाध्य भएर वडा कार्यालयमा तालाबन्दी गरेको त्यहाँका स्थानीय मजदुर बल्देव ऐरीले बताए ।
८ जना मजदुरको ५५ हजार रुपैंया वडा कार्यालयले भुक्तानी नगरेको उनले बताए । यस्तै विद्युत विस्तारको क्रममा स्थानीय सुरेन्द्र ऐरीलाई चोट लागेको र उनको उपचारमा २० हजार खर्च भएको थियो ।
त्यो रकम समेत उनीहरुले नतिरेको ऐरीले बताए । मजदुरहरुले आफूहरुले काम गरे बाफतको रकम भुक्तानीका लागि जिल्ला प्रशासन कार्यालयमा समेत निवेदन दिएका थिए ।
