महेन्द्रनगर, ८ पुस । कृष्णपुर नगरपालिका–६ को वडा कार्यालय भवन निर्माणको विषयलाई लिएर स्थानीयले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । वडा नं। ६ को प्रशासनीक भवन बसन्तपुरको महाकाली माविको जग्गामा निर्माण गर्न खोजेपछि स्थानीयले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।
वडा कार्यालय निर्माणको विषयमा स्थानीयले ४ वर्षदेखि बिरोध गर्दै आएका थिए । ‘वडा कार्यालय सबैको अपायक पर्ने ठाउँमा राखेपछि नगरपालिकामा तालाबन्दी गरेका हौं,’ स्थानीय पुष्पराज भट्टले भने, ‘यो विवाद अहिलेको होइन पहिलादेखि नै थियो ।’
जनप्रतिनिधिहरुले कार्यकालको अन्त्यमा जबरजस्ती भवन निर्माण गर्न खोजेको उनको आरोप छ । ‘जनप्रतिनिधिहरुले अहिलेसम्म सबैको पायक पर्ने ठाउँ पहिचान गर्न सकेन,’ उनले भने, ‘अन्तिममा आएर विद्यालयको प्राकृतिक पोखरी मासेर भवन निर्माण गर्न खोजी रहेका छन् ।’
नगरपालिकाले वडावासी सबैको पायक पर्ने ठाउँ पहिचान गरी निर्माण गर्नुपर्ने स्थानीय बताउँछन् । केही व्यक्तिको अबरोधका कारण अहिलेसम्म वडा कार्यालय भवन निर्माण गर्न नसकेको वडा अध्यक्ष नथुराम चौधरीले बताए ।
‘पहिला बालमुक्ति विद्यालय नजिक वडा कार्यालय बनाउन खोजेका थियौं,’ उनले भने, ‘अहिले बिरोध गर्नेहरुकै कारण त्यहाँ निर्माण गर्न सकेनौं ।’ विकास बिरोधी व्यक्तिहरुकै कारणले भवन निर्माणमा ढिलाइँ भइरहेको उनी बताउँछन् ।
‘अहिले निर्माणका लागि ठेक्का भएको छ, निर्माण रोक्नकै लागि उनीहरुले बिरोध गरिरहेका हुन्,’ उनले भने, ‘अहिले भवन निर्माण गर्नका लागि छनौट भएको ठाउँ सबैको पायक पर्छ ।’