धनगढी, ४ पुस । जोरबिजोर प्रणाली लागू भएपछि धनगढीका अटो रिक्सा चालकले आन्दोलन थालेका छन्। पुस १ गतेदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगुवाइमा अटो रिक्सा सञ्चालनमा जोरबिजोर प्रणाली लागू भएपछि चालक आन्दोलनमा उत्रिएका हुन्।
रिक्सा चालकले धनगढीमा प्रदर्शन गर्दै उपमहानगरपालिका पनि घेराउ गरेका छन्। उनीहरुले जोरबिजोर प्रणालीले आफूहरुलाई दैनिकी चलाउन मुस्किल हुन बताएका छन्। ‘दिनभर अटो चलाएर छाक टार्ने गरेका छौं, एकदिन पनि अटो नचलाउदा समस्या हुन अटो चालक मोहन चौधरीले बताए ।
ट्राफिक प्रहरीले मुख्य सडकमा भने जोरबिजोर लगाइएको बताएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक सिँहले अटो रिक्सा चालकले निषेधाज्ञाको समय जस्तो जोरबिजोर बुझेकाले बिरोध गरेको बताए।
यातायात व्यवस्था कार्यालय धनगढी र धनगढी उपमहानगरपालिकाले दार्ता गरेका झण्डै १० हजार रिक्सा धनगढीमा सञ्चालनमा रहेको अनुमाग गरिन्छ। साँघुरो सडकमा धेरै रिक्सा सञ्चालनमा आउँदा ट्राफिक व्यवस्थापन मुस्किल भएको छ।