धनगढी, ३ पुष । सरकारले सुदूरपश्चिम प्रदेशका ७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप र २ जिल्लामा फाइजर खोप लगाउने भएको छ। कञ्चनपुर, बझाङ, डोटी, बैतडी, अछाम, बाजुरा र दार्चुलाका बालबालिकालाई मोडर्ना खोप र कैलाली र डडेल्धुराका बालबालिकालाई फाइजर खोप दिइने सामाजिक विकास मन्त्रालयले जनाएको छ।
१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने भएको हो। यही पुस ४ देखि १४ गतेसम्म पहिलो मात्रा र माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा दिइने सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए।
डडेल्धुरामा पुस १३ देखि २२ गतेसम्म पहिलो मात्रा र माघ ४ देखि १२ गतेसम्म दोस्रो मात्रा दिइनेछ। कैलालीको खोप सञ्चालनको मिति भने निर्धारण गरिएको छैन। सरकारले सुदूरपश्चिमका लागि २ लाख ११ हजार मोडर्ना खोप उपलब्ध गराएको बताइएको छ।