विगतदेखि नै विवादमा आएको धनगढीको वेष्टर्न ईन्टरनेशनल विजनेस स्कुलमा भाडा नदिएपछि घरवेटीले नै तालाबन्दी गरेका छन्। विगत ९ महिनादेखि भाडा नदिएको भन्दै घरवेटीले आज तालाबन्दी गरेका हुन् ।
९ महिनाको झण्डै ८ लाख ६४ हजार बढि भाडा नदिएपछि तालाबन्दी गरिएको घर मालिक कल्पना खड्काले जानकारी दिईन्। दुई तल्लाको उक्त घरमा माषिक ७५ हजारका दरले वेष्टर्न ईन्टरनेशनल विजनेस स्कुलले भाडा दिनुपर्ने सम्झौता थियो।
पहिलो पटक भएको सम्झौता २०७५ साल पौष महिनामा सकिएपनि त्यसपछि पनि सोही घरमा वेष्टर्न विजनेस स्कुल सञ्चालन हुँदै आएको थियो।
स्कुलका प्रवन्ध निर्देशक शैलेन्द्र सिंहले ७ लाख १४ हजारको चेक दिएपनि बाउन्स भएपछि बाध्य भएर ताला लगाउनुपरेको खड्काले बताईन्। यसअघि पनि स्कुलले भाडा वापत दिएको चेक पटक–पटक बाउन्स भएको उनको भनाई छ।
स्कुलमा तालाबन्दी भएपछि विविए पढ्ने विद्यार्थीहरु भने अन्योलमा परेका छन् । यसअघि अमेरीकन युनिभर्सीटीबाट मान्यता प्राप्त भएको भन्दै पढाई सुरु गरेपनि त्यस्तो नभेटिएपछि स्कुलकै २ जना विद्यार्थीले स्कुल विरुद्ध प्रहरीमा उजुरी दिएका थिए। अहिले पनि केहि विद्यार्थीहरुले बर्षौ पहिलेदेखि स्कुलबाट शैक्षिक प्रमाणपत्र पाएका छैनन् ।
