धनगढी, २५ मंसिर । मालिकार्जुन गाउँपालिकाका जनप्रतिनिधीले नियमविपरीत आफ्ना आफन्तलाई रोजगारी दिएका छन् । गाउँपालिकाले विभिन्न पदमा १५ जना कर्मचारी भर्ना गर्दा जनप्रतिनिधीका आफन्त भर्ना गरेको हो । गाउँपालिकाले ८ जना कम्प्युटर सहायक, ३ जना भेटेरिनरी जेटिए, असिस्टेन्ट सब इन्जिनियर र १ जना उद्यम विकास संयोजक नियमविपरीत भर्ना गरेको छ ।
गाउँपालिकै उपाध्यक्ष पुष्पा अवस्थीका उनका अनुसार नियमविपरीत उद्यम विकास संयोजकमा जगदीशचन्द्र अवस्थी, कम्प्युटर सहायकमा बिमलाकुमारी शाही, नविनसिंह बोहरा, गोपालसिंह धामी, केशवराज पन्त, जनकराज जोशी, मानमती सामन्त, कविता धामी र महेशसिंह धामीलाई नियुक्त गरिएको छ । यसैगरी, असिस्टेन्ट सवईन्जिनियरमा अकबरसिंह धामी, भिमसिंह धामी, भागरथी धामी, भेटेनरी जेटिएमा करनसिंह धामी, जीवनसिंह धामी र अर्का जीवनसिंह धामीलाई भर्ना गरिएको छ । ‘
कानुन मिचेर कर्मचारी भर्ना गरिएका छन्,’ उपाध्यक्ष अवस्थीले भनिन्, ‘मैले सुरुदेखि नै विरोध गर्दै आए पनि जबरजस्ती भर्ना गरेका हुन् ।’ भर्ना गरिएका व्यक्ति गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी र केही वडा अध्यक्षका आफन्तको भएको उनले सुनाइन् । वडा नम्बर ८ का वडाअध्यक्ष पदमराज पन्तका भाई केशवराज पन्तलाई कम्प्युटर सहायकमा नियुक्त गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले कम्प्युटर सहायकमा भतिजी कविता धामीलाई नियुक्त गरेका छन् ।
कम्युटर सहायकमै भर्ना गरिएकी मानमती सामन्त वडा नं ४ का वडाअध्यक्ष चक्रसिंह धामीकी श्रीमती हुन् । वडा नं ६ का वडाअध्यक्ष गोपालसिंह धामीले छोरा महेशसिंह धामीलाई कम्युटर सहायकमा राखेका छन् । असिस्टेन्ट सवइन्जिनियरमा अकबरसिंह धामी पनि उनकै आफन्त हुन् । भीमसिंह धामी गाउँपालिका अध्यक्षका भतिज पर्छन् ।
भेटेरिनरी जेटिएमा भर्ना गरिएका करनसिंह धामी गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी शोभानसिंह धामीका भतिज हुन्। भेटेरिनरी जेटिएमै भर्ना गरिएका जीवनसिंह धामी वडा नं ३ का वडाअध्यक्ष रुद्रसिंह धामीका नाति हुन् । ‘कर्मचारीमा आफ्नै नातागोता र कार्यकर्तालाई राखेका छन्,’ गाउँपालिका उपाध्यक्ष अवस्थीले भनिन्, ‘मेरो देवरलाई पनि उद्यम विकास संयोजकमा राखेको छ, कानून मिचेर राख्नु हुँदैन भन्ने मेरो भनाइ हो ।’ सरकारले प्रादेशिक लोकसेवा आयोगको सिफारिसमा मात्रै कर्मचारी नियुक्त गर्न सक्ने व्यवस्था गरेको छ ।
प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले प्रदेशका सबै स्थानीय तहलाई मनोमानी रुपमा कर्मचारी भर्ना नगर्न पत्राचार गरेको छ ।
