महेन्द्रनगर २७
कञ्चनपुरको महेन्द्रनगरमा नेपाली सेनाले पहिलो पटक दुई दिने सामुहिक विपद् प्रतिकार्य तालिम सुरु गरेको छ ।
भीमदत्त नगरपालिकासितको सहकार्यमा शुक्रबारदेखि नेपाली सेनाको सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकको आयोजनामा भीमदत्त नगरपालिकाका १९ वटै वडाका ३२ जना स्थानीयलाई विपद् व्यवस्थापन तालिम दिइरहेको छ ।
तालिममा सहभागीहरुलाई गुल्मले प्रयोगगात्मक विधिबाट समेत प्रशिक्षण दिने सेनाले जनाएको छ ।
तालिम उद्घाटन समारोहमा बोल्दै सिंहशार्दूल गुल्मका गुल्मपति सेनानी प्रणयजंग मल्लले स्थानीय स्तरमा रहेका स्रोत साधनको प्रयोग गरी विपद् जोखिमबाट बच्न सकुन भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए ।
“विपद् आइलाग्दा सुरुमा स्थानीय नै त्यहाँ पुग्छन ।” गुल्मपति मल्लले भन्नुभयो–“स्थानीयले विपद्का जोखिमलाई निरुत्साहित गर्न सकुन भनेर तालिम आयोजना गरिएको हो ।”उहाँले कञ्चनपुरका नौ वटै स्थानीय तहमा उक्त तालिम सञ्चालन गर्ने गुल्मको योजना रहेको जानकारी दिनुभयो ।
“यसप्रकारका तालिमहरुले सैद्धान्तिक र व्यवहारिक ज्ञान प्राप्त भई समुलायमा आउन सक्ने जोखिम न्युनीकरणमा सहयोग पुग्छ ।” उहाँले भन्नुभयो ।
सिंहशार्दूल गुल्मले कञ्चनपुरमा स्वास्थ्य शिविर, विभिन्न सचेतनामुलक कक्षाहरु सञ्चालन गर्नुका साथै सामाजिक कार्यमा सक्रिय हुदै आएको छ ।
