धनगढी, २७ भदौ ।
सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवस मनाउने तयारी सुरु गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिवसको तयारी सुरु गरेको जनाएको छ । प्रदेश सरकारले यस वर्ष तीन दिन सम्म दिवस भव्य रूपमा मनाउने बताएको हो ।
शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले यस वर्ष फरक ढङ्गले संविधान दिवस मनाउने निर्णय गरेको छ । संविधान दिवसको लागि तयारी समेत सुरु भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुन प्रसाद पोख्रेलले जानकारी दिए ।
तीन दिन सम्म दीपावली गरिने उनले बताए । ‘यस वर्ष राष्ट्रिय उत्सवका रूपमा संविधान दिवस मनाइने छ’ उनले भने, संविधान दिवसको लागि भव्य तयारी सुरु भइसको छ ।’
असोज २ गते देखी ४ गते सम्म दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने उनले जानकारी दिए ।
तीन दिन सम्म दीपावली, सञ्चार संवाद, ¥याली, झाँकी र औपचारिक सभा समेत आयोजना गरिने बताए । संविधान दिवसको अवसर पारेरै ४ गते वृक्षारोपण गरिने पोख्रेलले बताए ।
भदौ २४ गते मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा संविधान दिवस मूल आयोजक समिति समेत गठन भइसकेको छ । प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेका सचिव पोख्रेलले संविधान दिवसको कार्यक्रममा सहभागी हुन समेत सबैलाई आह्वान गरेका छन् ।
पश्चिम टुडे बाट