आज पुनर्वासको आईविआरडी बजारबाट बालबालिका चोर्ने गिरोहका दुईजना भारतिय पक्राउ परेका छ्न । पक्राउ परेका दुई व्यक्तिहरुको क्रियाकलाप शंकास्पद देखिएपछि स्थानीय र प्रहरीको सक्रियतामा अपहरणकारीहरु पक्राउ परेका थिए । साधुको भेषमा आएका अपहरणकारीहरुले केही दिन अघि पुनर्वास ४ बाट एघार बर्षिय जगत दमाईलाई अपहरण गरेर लगेका थिए । तर भारतको सम्पूर्णानगर नजिकै पुगेपछि नेपालीको सहयोगमा अपहरणमुक्त भएको पीडित बालकले हाम्रै साझा पत्रिकालाइ बताएका छन ।
पीडित बालक भन्छ्न, “बसही९सिमावर्ती भारतीय बजारजान लागेको थिएँ। आनन्द बजार भन्दा अलि तल पुगेको थिए । दुईजना साधुहरुले मेरो घरपरिवारको बारेमा सोधे । मैले नढाँटी सबैकुरा भने । मेरो ठुल्दिदी दिल्लीमा हुनुहुन्छ भनेपछि तीनीहरुले हामी तिमीलाई दिदिको घर पुरयाईदिन्छौ भने । म उनीहरूको पछि लागे । बसही पुगेपछि मलाई जिलेबी र समोसा खान दिए । खानेकुरा खाईसकेपछी के के भो मलाई थाहा भएन । तर केहि समयपछि होसमा आउँदा मलाई बोरा भित्र राखिएको पाएँ । बोरामा हालेर रस्सिले बाधेर मलाई साईकलमा लगदै गरेको चाल पाएँ । म राम्ररी सास फेर्न नसकेर उकुसमुकुस भएँ । तामाङ भाषामा कुरा गरेर बाटोमा मान्छे हिडेको सुनेपछि सकेसम्म जोडले हातखुट्टा चलाए । त्यही तामाङहरुले अपहरणकारीबाट मलाई छुटाए । बोरा खोलिदिए । बोराबाट निस्कने बित्तिकै डराएर त्यहाँबाट भागेर घर आएँ। तर आफुलाई बचाउने तामाङहरु को हुन र कस्ता थिए मलाई थाहा छैन ।”
आज दिउँसो पीडित बालकले अपहरणकारीहरुको पहिचान गरेको छ । प्रहरी,पत्रकार र सामाजिक परिचालक बसुन्धरा बस्नेत तथा सर्वसाधारणको अगाडी पीडितले आफुलाई अपहरण गर्ने व्यक्तिहरु यिनिहरु नै हुन भनी किटानी गरेको छ । तर बालकले भन्दैमा कार्वाही गर्न नसकिने र अपहरणकारी हुन कि हैनन भनेर अनुसन्धान पछि मात्र भन्न सकिने प्रहरीले जनाएको छ ।
हाल अपहरणकारीको आरोप लागेका दुई भारतीयहरुलाई ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा राखी प्रहरीले अनुसन्धान कार्यलाई अगाडि बढाएको छ ।
साझा पत्रिकाबाट