कञ्चनपुर, १८ कार्तिक । छिटफुट पर्यटकहरू आउँदै गरेका थिए । एउटा घरलाई दोस्रोरतेस्रो दिन पाहुना राख्ने पालो आउँथ्यो । घरमा उत्पादन हुने अन्नदेखि तरकारी सबै खपत हुन्थ्यो । यसबाट घर खर्च राम्रै चलेको थियो ।
डेढ वर्षदेखि पाहुना आउन बन्द भएपछि रानाथारु सामुदायिक होमस्टे सुनसान छ । होमस्टे नै आम्दानीको एक मात्र स्रोत भएका परिवारलाई घर खर्च चलाउनै मुस्किल भएको छ ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जछेउमै रहेको रानाथारु सामदायिक होमस्टे कोरोना महामारी सुरु भएयता बन्द जस्तै छ । संक्रमणको पहिलो लहरपछि गत वर्ष फागुन–चैतमा होमस्टे खुला गरिएको थियो तर पाहुना आएनन् ।
दोस्रो लहरपछि फेरि होमस्टे सञ्चालनमा आएको छ । दसैंअघि नै खुला होमस्टेमा अहिलेसम्म पाहुना नआएको सामुदायिक होमस्टेका सचिव चेतराम रानाले बताए । ‘होमस्टे खुला त गर्यौं तर पाहुना आएका छैनन्,’ उनले भने, ‘अब तिहारपछि पाहुना आउँछन् की भन्ने आस छ ।’
भीमदत्त नगरपालिका–१४ र १६ मा रहेको नयाँ कटानस्थित रानाथारु वस्तीमा २०७२ मा होमस्टे स्थापना गरिएको थियो । ८ वटा घरमा दुईरदुई कोठे होमस्टे सञ्चालनमा छ । होमस्टे सञ्चालन भएपछि यहाँका स्थानीयले उत्पादन गरेको साग, तरकारी, अन्न सबै घरमै खपत भइरहेको थियो । घरका सबैले काम पनि पाएका थिए ।
‘नियमित पाहुना आउँदा मासिक २०र२५ हजार रुपैयाँसम्म आम्दानी हुन्थ्यो,’ सचिव रानाले भने, ‘कोरोनाले सबै भताभुंग पार्यो, घरमै बसेर भइरहेको आम्दानी गुमेको छ ।’ उनका अनुसार सुरुमा निर्माण गरिएका काठका घरहरू भत्काएर २०७६ मै होमस्टेका लागि पक्की घरहरू निर्माण गरिएको थियो । ४र५ लाख खर्च गरेर होमस्टे निर्माण गरेपछि पाहुना आउनै बन्द भयो ।
‘होमस्टे सञ्चालकहरू अहिले तरकारी खेती र ज्याला मजदुरीमा जान थालेका छन्,’ सामुदायिक होमस्टेका अध्यक्ष पर्शुराम रानाले भने, ‘पाहुना आउँदैनन्, आम्दानी केही नभएपछि सबै समस्यामा छन् ।’ होमस्टेको पक्की घर बनाउँदा भएको खर्चले सञ्चालकहरूलाई बढी समस्या छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारी बन्द भएका कारण पनि होमस्टेमा पाहुना नआएका हुन् । निकुञ्जले दसैंअघि नै जंगल सफारी खुला गरेको छ । तर कात्तिक पहिलो साता भएको बेमौसमी वर्षाले बाटोघाटो बिग्रँदा जंगल सफारीमा केही समस्या आएको छ ।
‘बाढीका कारण केही दिन सफारी रोकिएको थियो,’ निकुञ्जका सहायक संरक्षण अधिकृत रबिन चौधरीले भने, ‘यसै सातादेखि फेरि सफारी सुरु भइसकेको छ, फाटफुट मात्रामा पर्यटकहरू निकुञ्ज प्रवेश गरिरहेका छन् ।’