चार थान पेस्तोल, दर्जनौ तमसुक, चेक र नक्कली छाप सहित पक्राउ परेका सञ्जय राणा काठमाण्डौंका व्यापारी विन्देश्वर श्रेष्ठको उजुरी पछि पक्राउ परेका हुन् ।
श्रेष्ठले उनीसंग साढे ८ करोड रुपैया लिनुपर्ने बताएका छन् । पटक पटक गरी राणालाई साढे ८ करोड रुपैया दिएको श्रेष्ठले उजुरीमा उल्लेख गरेका छन् ।
पैसा नदिएपछि राणाले मटियारीमा रहेको आफ्नी आमा प्रतिभा राणाको नामको घरजग्गा श्रेष्ठको नाममा पास गरेको पाईएको छ । पुरानो पैसा नदिएका राणाले थप नौ करोड माग गर्न थालेपछि श्रेष्ठले प्रहरीमा उजुरी दिएको बताईएको छ ।
धनगढीको एक जना व्यक्तिको समन्वयमा राणा र श्रेष्ठबीच सम्बन्ध बनेको र त्यही सम्बन्धपछि राणा र श्रेष्ठबीच आर्थिक लेनदेन शुरु भएको बताईएको छ ।
उजिरी पछि राणालाई पक्राउ गर्दा अवैध हातहतियार, करोडौंका नक्कली चेक, नक्कली सरकारी कागजात, छाप तथा सुनका गरहना सहित पक्राउ गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढी चटकपुरस्थित एक घरको भाडामा लिइएको कोठाबाट उनीहरुलाई पक्राउ गरेको थियो ।
अवैध कारोबारका मुख्य नाइके भनिएका धनगढी उपमहानगरपालिका–६, मटियारी सञ्जय राणा तथा उनका सहयोगी सोही ठाउँका कमलबहादुर बिक र मकवानपुर घर भइ धनगढी–३, बस्ने रुद्रप्रसाद अधिकारी पक्राउ परेका थिए ।
कोठाको शौचालयबाट एक थान पेस्तोल, एक थान रिभल्बर र दुई थान कटुवा पेस्तोल तथा सात राउण्ड गोली प्रहरीले बरामद गरेको थियो ।
यस्तै, ६ सय ७९ ग्राम सुनका गरगहना, नेपाल राष्ट्र बैंकको नाममा जारी गरिएका १ अर्ब ९० करोड २० लाख २७ हजार ६६५ तीन वटा नक्कली चेक, विभिन्न व्यक्तिका नाममा काटिएका २ करोड ४५ लाख २० हजारका १९ थान चेक र हस्ताक्षर गरेका विभिन्न बैंकका ३८ थान चेक प्रहरीले बरामद गरेको थियो ।
यस्तै विभिन्न व्यक्तिका नाममा बनाइएका १८ करोड ३ लाख ६४ हजारका २३ थान तमसुक पनि प्रहरीले बरामद गरेको थियो । उनको साथबाट ३१ वटा सरकारी कार्यालयका नक्कली छापहरु समेत प्रहरीले बरामद गरेको थियो ।
बरामद गरिएका अर्थ मन्त्रालय, सुचना तथा सञ्चार मन्त्रालय, नेपाल राष्ट्र बैंक बालुवाटार शाखा, आन्तरिक राजस्व विभाग, महालेखा नियन्त्रकको कार्यालय, राजस्व विभाग सेवा कार्यालय सिंहदरबार, मालपोत कार्यालय, धनगढी उपमहानगरपालिका, गोदावरी र टीकापुर नगरपालिका लगायत ३१ वटा सरकारी कार्यालय तथा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको नक्कली छाप बरामद गरेको थियो ।
ट्राफिक प्रहरीले प्रयोग गर्ने सेतो बेल्ट, सिट्टीकर्ड, आर्मब्याज, निलो चुस्ता पनि बरामद गरेको थियो । नेपाल राष्ट्र बैंक, कैलाली जिल्ला अदालत, मालपोत कार्यालय धनगढी र टीकापुर, यातायात व्यवस्था कार्यालय लगायत सरकारी निकायको लेटर प्याड पनि प्रहरीले बरामद गरेको थियो । पश्चिम टुडेबाट