धनगढी, २८ असोज । जिल्लाको चौरपाटी गाउँपालिकाका विभिन्न स्थानमा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । बुधवार बिहान देखि यहाँका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भएको हो ।
दसैँको दिनमा विद्युत सेवा अवरुद्ध हुँदा नागरिकहरू अन्धकारमा बस्न बाध्य भएका छन् ।
दुई दिन देखिको विद्युत सेवा अवरुद्ध भएका कारण मानिसहरू अन्धकारमा बस्नका साथै फोन गर्नको लागि समेत मोबाइलमा चार्ज नहुँदा समस्या भएको वडा नम्बर १ का स्थानीय मान बहादुर साउँदले गुनासो गरेका छन् ।
दुई दिन सम्म पनि विद्युत सेवा सुचारु गर्न नसक्नु प्राधिकरणको लापरबाही भएको उनको आरोप छ ।
यस्तै अन्य नागरिकहरूले समेत नेपालीहरूको महान् चाड दसैँको दुई दिन सम्म पनि विद्युत सेवा सुचारु नभएपछि सामाजिक सञ्जालमा समेत आक्रोश व्यक्त गरेका छन् । तर यता नेपाल विद्युत प्राधिकरणले भने फिउज गएका कारण समस्या भएको जनाएको छ । आज बिहान कर्मचारी पठाएर मर्मतको काम भइरहेको र केही समयमा विद्युत सेवा सुचारु हुने बताइएको छ ।
