भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि दबाब दिन रिले अनशन बस्ने तयारी भएको छ। झुलाघाट मोटरेबल पुल निर्माण संघर्ष समितिको गोठलापानीमा बसेको बैठकले यही भाद्र २२ गतेदेखि अनिश्चितकालिन रिले अनसन बस्ने निर्णय गरेको संघर्ष समितिका संयोजक नरबहादुर चन्दले जानकारी दिए।
झुलाघाट नाकामा पक्की पुल नहुँदा सुदूरपश्चिमका पहाडी जिल्लाहरुको अर्थतन्त्रमा असर परेकाले पुल निर्माणका लागि सरकारलाई दबाब दिन रिले अनसन बस्ने निर्णय भएको उनले बताए। अनशनमा उद्योग वाणिज्य संघ लगायतका संघ संस्था र संघर्ष समितिको सहभागिता रहनेछ।
झुलाघाट नाका पक्की पुल नभएकाले धार्मिक पर्यटनका सम्भावना उजागर गर्न नसकिएको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्टले बताए। पक्की पुल नभएकै कारण झुलाघाट नाकामा निर्यात शुन्यको स्थिती आएको उनले बताए ।
झुलाघाट नाकामा पक्की पुल बनाउने बिषयमा नेताहरुले पटक पटक आश्वासन दिएपनि अहिले सम्म पुल निर्माणका लागि केही काम हुन सकेको छैन्।