धनगढी, फाल्गुन १२/ नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा अविलम्ब राजीनामा दिनुपर्ने बताएका छन्।
प्रचण्ड-नेपाल समूहले आज जनकपुरधाममा निकालेको विजय जुलुसको कोणसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका नेता झाले प्रधानमन्त्री ओलीलाई इज्जत जोगाउनका लागि पनि राजीनामा दिन सुझाए।
उनले नेपाली जनताले प्रतिगामी शक्तिलाई एक पटक फेरि परास्त गरेर देखाएको दाबी समेत गरे।
नेता झाले अब नेपाली राजनीतिमा ओलीको कुनै काम नरहेकोले राजनीतिबाट सन्यास लिनुपर्ने समेत सुझाए।
‘प्रधानमन्त्रीजीलाई म आग्रह गर्छु। उहाँले आफ्नो इज्जत जोगाउन पनि राजीनामा दिनुपर्छ, पार्टीले समेत कारबाही गरिसकेकाले बालकोट गएर आरामले घरमा बसेर भुजा खानुस्,’ नेता झाले भने, ुनेपाली राजनीतिमा उहाँ जस्ता नेताको कुनै काम छैन नभए तपाईंहरू जस्ताले पार्टी नै सखाप पार्नेछन्।’
उनले प्रतिगामीको पक्षमा लागेकाहरूलाई पार्टीमा स्थान नदिन नेतृत्व पंक्तिलाई आग्रह समेत गरे।
यसअघि प्रचण्ड-नेपाल समूहको जनकपुरधामस्थित पार्टी कार्यालयबाट निस्केको विजय जुलुस नाराबाजी गर्दै जनक चोकमा पुगी कोणसभामा परिणत भएको थियो।
विजय जुलुसमा नेताहरूले यो जित कसको जनताको, नागरिक समाज धन्यवाद, केपी ओली बाई बाई सहितका नारा लगाएका थिए।
