वर्षायामको समयसँगै सुदूरपश्चिम प्रदेशमा सर्पदंशका बिरामीहरुको संख्यामा बृद्धि भएको छ । गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाहरुबाट २ सय १९ जनासर्पदंशका बिरामीहरु सेती अञ्चाल अस्पतालमा उपचारका लागि आएका थिए । आर्थिक वर्ष २०७४÷७५ मा भने सेती अञ्चाल अस्पतालमा १९० जना सर्पदंशका बिरामी उपचारका लागि आएका थिए । यो समयमा सर्पको बिगबिगि बढ्ने भएको हुँदा सचेत रहन चिकित्सकहरुको सुझाव छ ।
धनगढीको सेती अञ्चाल अस्पतालमा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट सर्पदशंकका बिरामीहरु आउने गरेका छन् । पछिल्लो केहि वर्षयता सर्पदंशका बिरामीहरुको संख्यामा बृद्धि भइरहेको अस्पतालले जनाएको छ । सर्पदशंका बिरामीहरुको सख्यामा बृद्धि भएपनि सर्पको टोकाइबाट ज्यान गुमाउनेको संख्यामा भने कमि आएको सेती अञ्चल अस्पताल इमेरजेन्सी बिभागका इन्चार्ज कृष्ण बहादुर बोहराले बताए । उनले समयमै अस्पताल पुगेर उपचार गराउनेको ज्यान जोगिने गरेको बताए ।
गत आर्थिक वर्षका सर्पको टोकाइबाट १० जनाले ज्यान गुमाएका थिए । त्यो भन्दा अघिल्लो वर्ष ११ जनको ज्यान गएको थियो । सर्पदशंका बिरामीहरुको संख्यमा बृद्धि भएपनि अधिकांसलाई बिष नलाग्ने सर्पले टोकेका कारण ज्यान गुमाउनेहरुको संख्यामा कमि आएको चिकित्सकहरु बताउँछन् । गत आर्थिक वर्षमा मात्रै ७६ जनालाई बिषालु सर्पले टोकेको थियो भने १४३ जनालाई बिष नलाग्ने सर्पले टेकेको थियो । पछिल्लो समय धनगढीमै पनि सर्पको बिगबिगी भएपछि नागरिक त्रसित भएका छन् । समान्य सावधानी अपनाउँदा जोखिमबाट बच्न सकिने धनगढी उत्तर बेहडीका नारायण भट्ट र बोराडाडीका मदनराज भट्टले बताए ।
सर्पको टोकाई बाट सेती अञ्चल अस्पतालमा अहिले पनि दैनिक १५ जनासम्म बिरामी आउने गरेका छन् । चैतदेखी असोज मसान्तसम्म सर्पदंशको जोखिम बढी रहने चिकित्सकहरु बताउँछन् । यो समयमा बढि सुरक्षित रहनु पर्ने बताउँछन् सेती अञ्चल अस्पताल इमेरजेन्सी बिभाग प्रमुख तथा आकस्मिक रोग बिशेषज्ञ डाक्टर जगदिश जोशी ।
‘गर्मी याम नै सर्पको बिगबिगी हुने समय हो’, उनले भने–‘सर्पको टोकाइबाट बच्नका लागि यो बेला सचेत हुनु पर्दछ ।’ सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पर्याप्त सर्पदशं उपचार केन्द्र नहुँदा पनि समस्या भइरहेको छ ।
ढिलो गरि उपचार केन्द्रमा पु¥याउँदा धेरैको ज्यान गएको पाइएको छ । असोज मसान्त सम्म यसको जोखिम बढि हुने हुँदा स्वयम ब्यक्ति सजक रहन आवश्यक देखिन्छ । घर वरिपरि सफा राख्ने, रातिको समयमा अध्यारोमा हिडडुल नगर्ने र सुत्नेबेलामा झुलको प्रयोग गरेमा पनि यसको जोखिमबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।